कर्णाली प्रदेश

कर्णालीका महिला स्वयंसेविकाको माग : बजेटमा सम्मानजनक व्यवस्था होस्

कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवी) हरूको सेवालाई उचित कदर हुने गरी आगामी बजेट ल्याउने बताएका छन्।

नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ (नेभा) मा आबद्ध सुर्खेतका स्वयंसेवीहरूले आज वीरेन्द्रनगरमा बुझाएको माग तथा सुझावपत्र ग्रहण गर्दै मन्त्री भण्डारीले स्वयंसेवीहरूको सेवाको उच्च सम्मान गर्दै बजेटमा आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन्। नागरिकको स्वास्थ्य उपचार र प्रवर्द्धनमा स्वयंसेवीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले राज्यका निकायबाट स्वयंसेवी महिलाहरूले उचित कदर पाउन नसकेको विषयमा आफू जानकार रहेको बताए।

सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा स्वयंसेवीहरूको हितमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको जानकारी गराउँदै मन्त्री भण्डारीले कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि स्वयंसेवीहरूले न्यूनतम पारिश्रमिक र थप सहुलियत प्राप्त गर्ने विश्वास व्यक्त गरे। उनले कर्णाली प्रदेशमा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा स्वयंसेवीहरूलाई सहभागी गराउँदा न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको पनि बताए।

नेभाका तर्फबाट पेस गरिएका सुझावहरूलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी स्वयंसेवीहरूले प्रदान गर्ने सेवालाई सहज बनाइने मन्त्री भण्डारीको भनाइ थियो। स्वयंसेवीहरूले ६० वर्ष उमेर पुगेका स्वयंसेवीहरूलाई जीवनयापनमा सहयोग पुर्‍याउन प्रतिवर्ष ३० हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्चबापत २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने र मासिक प्रतिवेदनबापत सात हजार रुपैयाँ उपलब्ध गराउनुपर्नेलगायतका माग तथा सुझाव मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *