देश

देशभर राप्रपाको राँके जुलुस, दुर्गा प्रसाईँकै शैलीमा हिंसात्मक प्रदर्शनको संकेत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणा विरुद्ध राज्यद्रोहको मुद्दा चलाउने तयारी भएको भन्दै राप्रपाले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ।

पार्टीले यसअघि २४ घन्टाभित्र आफ्ना नेताहरूलाई रिहा गर्न अल्टिमेटम दिएको थियो। तर, सरकारले उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाएपछि राप्रपा आन्दोलनमा उत्रिएको हो।

राप्रपाका कार्यकर्ताहरूले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा मसाल जुलुस निकालेका छन्। काठमाडौंको चावहिल, कोटेश्वर, लगनखेल र नयाँ बानेश्वरमा राप्रपाका कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदेश र जिल्लाका सदरमुकामहरूमा पनि आक्रोशपूर्ण प्रदर्शनहरू भएका छन्।
राजावादी धारका नेताहरूले पछिल्लो समय दुर्गा प्रसाईँकै शैलीमा आक्रोशपूर्ण प्रदर्शनहरू गर्दै आएका छन्।

राप्रपाको यो प्रदर्शन शान्तिपूर्ण रहने दाबी गरिएको छ, तर प्रदर्शनकारीहरूले आक्रोशपूर्ण नारा लगाउँदै हिंसात्मक गतिविधि हुनसक्ने संकेत देखाएका छन्। स्थानीय प्रशासनले प्रदर्शन हिंसात्मक भए कडा कदम चाल्ने चेतावनी दिएको छ।

सुरक्षा निकायहरू राजधानी र प्रमुख सहरहरूमा सतर्क अवस्थामा छन्। राप्रपाले आफ्ना नेताहरूलाई बिनासर्त रिहा गर्नुपर्ने माग दोहोर्‍याएको छ, अन्यथा आन्दोलनलाई अझ कडा बनाउने चेतावनी दिएको छ।

सरकारले राप्रपाका नेताहरूविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध र हिंसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ। राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रतिनिधिसभाको बैठकमा आक्रोस देखाउँदै राजावादी आफूपनि भएको भन्दै सक्ने भए जेल हालेर देखाउन सरकारलाई धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । सरकारले काठमाडौं उपत्यकामा चैत्र १५ गते भएको घटनाका दोषीलाई अनुसन्धान गरेर कारबाही गर्नुपर्ने सत्ता तथा सत्ताप्रतिपक्ष दलका राजनीतिक दलहरुले सरकारसँग माग गरेपछि लिङदेनले पुनः देशमा अहिंशा मच्याउन सक्ने किसिमको अभिव्यक्ति दिएका थिए । त्यसपछि राप्रपाले साँझ देशभरी आन्दोलन गरेको हो ।

राजावादी आस्था राख्ने राष्ट्रिय प्रजातन्त्र पाटीलाई सो घटनाका दोषीहरुमाथि कारबाही गर्न र सो घटनाको क्षेतीपूर्ति तिर्न सरकारले निर्देशन दिएपछि प्रथम त लिङदेनको टाउको दुखेको छ ।

यस्तै तीनकुने घटनापछि देशभर राजावादी प्रदर्शनहरू भइरहेका बेला खोटाङमा पनि राप्रपाले राँके जुलुस निकालेको छ। दुर्गा प्रसाईँले केही समयअघि झापामा गरेको शैलीमा गरिएको यो जुलुसले स्थानीय क्षेत्रमा तनाव निम्त्याएको छ।

राप्रपाका कार्यकर्ताहरूले राजसंस्थाको पुनर्स्थापनाका लागि नारा लगाउँदै सडकमै आगो बालेर प्रदर्शन गरेका छन्। जुलुसका क्रममा केही स्थानमा झडप हुनसक्ने अवस्था देखिएपछि प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ। राजावादीले सडकमा आगो बालेर छोडेको आगो प्रहरीले नियन्त्रणमा गर्दै आएको छ ।

हिंसा भड्काउने संकेत 

राप्रपाका स्थानीय नेताहरूले जुलुसलाई शान्तिपूर्ण प्रदर्शन भनेका छन्, तर केही प्रदर्शनकारीहरू आक्रामक नारा लगाउँदै हिँडेको देखिएको छ। हाम्रो आन्दोलन शान्तिपूर्ण छ, तर गणतन्त्रका नाममा भष्ट्राचार गर्नेहरूलाई सचेत गराउनुपर्छ, प्रदर्शनका एक सहभागीले भने। तर, स्थानीय प्रशासनले प्रदर्शन हिंसात्मक हुने संकेत देखिएको भन्दै थप प्रहरी परिचालन गरेको छ।

तीनकुने घटनासँग जोडिएको आन्दोलन 

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि राप्रपाका शीर्ष नेताहरू प्रहरी हिरासतमा छन्। खोटाङको प्रदर्शन त्यसैको प्रतिक्रिया स्वरूप गरिएको हुन सक्ने अनुमान गरिएको छ।

प्रहरीले अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ। तर, यदि प्रदर्शन हिंसात्मक बनेमा कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *