काठमाडौं । धनुषा जिल्लाको सबैला नगरपालिका–९, भठिहनमा चोकको नामकरण विवादले उग्ररूप लिँदै झडप र गोलीकाण्डसम्म पुगेको छ।
स्थानीय चोकको नाम के राख्ने भन्ने विषयमा उत्पन्न विवादले उग्ररूप लिएपछि झडप भएको थियो। घटनालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ। प्रहरीका अनुसार झडपको क्रममा एक जना स्थानीय गोली लागेर घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
विवादको सुरुवात भठिहन चोकलाई एक समूहले ‘यादव चोक’ नामकरण गरेपछि भएको थियो। चोकको नामका विषयमा विभिन्न समूहहरूबीच मतभेद बढ्दै गएपछि स्थिति तनावग्रस्त बनेको बताइएको छ।
प्रहरी प्रशासनले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।




