काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै भारतको राष्ट्रिय मानवअधिकार आयोगलाई पत्राचार गरेको छ ।
बिहीबार नेपाली विद्यार्थीले उक्त घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दा उनीहरूमाथि समेत कुटपिट र दुर्व्यवहार भएको घटनाको शीघ्र छानबिनको लागि आयोगले भारतको राष्ट्रिय मानवअधिकार आयोगलाई पत्राचार गरेको हो ।
पत्रमा शङ्कास्पद मृत्युको घटनाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न, विश्वविद्यालयमा कुटपिट भएका र दुर्व्यवहारमा परेका विद्यार्थीहरूलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरू तथा व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई उत्तरदायी अनुरोध गरिएको सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै प्राप्त उजुरीको आधारमा आयोगले भारतस्थित नेपाली दूतावास र अन्य माध्यमबाट समेत घटना र विद्यार्थीको अवस्थाको बारेमा जानकारी लिइरहेको छ । उक्त घटनाबाट उत्पन्न परिस्थितिका कारण विश्वविद्यालय छोडेर हिँड्न बाध्य नेपाली विद्यार्थीहरू अझै पनि भयरहित वातावरणमा विश्वविद्यालय फर्कन नसकेको जानकारी प्राप्त भइरहेको भन्दै आयोगले सो सम्बन्धमा थप कूटनीतिक पहल गरी विद्यार्थीहरूको अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह समेत गरेको छ ।





