चितवन । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ ।
यसअघि नेपाल सरकारसँग यससम्बन्धी सम्झौता भइसकेको भन्दै उनले सन् २०२४ को अन्तिमदेखि भवन निर्माण सुरु हुने बताए ।
गत वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु बझाओ हुईले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसेको निर्देशक डा पौडेलले जानकारी दिए ।
सम्झौतामा ‘चीन सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ’ भन्ने उल्लेख छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमति भएको उनले बताए ।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार चिनिया टोली चितवन आएर भवन निर्माणस्थलको अनुगमन गरेर गइसकेको छ । उनले हालको प्रशासन भवनको पछाडि रहेको जग्गा छनोट गरिएको बताए ।
उपनिर्देशक नेपालले ठाउँको छनोट भइसकेको भन्दै उक्त ठाउँको माटो परीक्षणको काम समेत चिनियाँ टोलीले गरिसकेको जानकारी दिए । आफूहरूले स्थान दिने, पानी र बिजुलीको व्यवस्थापनलगायत स्थानीय समन्वय गर्ने बताउँदै उपनिर्देशक नेपालले भने, ‘भवन निर्माणदेखि उपकरण खरिद र जनशक्तिलाई तालिमसम्मको काम चिनियाँ सहयोगमा हुन्छ । भवनको डिजाइन, प्रविधि सबै चिनियाँले गर्ने सहमति भएको छ ।’
नेपालमा फाट्टफुट्ट काठमाडौँमा ‘बोनम्यारो’ प्रत्यारोपणको काम हुने भए पनि छुट्टै युनिट बनाएर गर्न लागिएको यो पहिलो भएको उपनिर्देशक नेपालको भनाइ छ । बोनम्यारो प्रत्यारोपण युनिट पाँच शय्याको हुने उनले जानकारी दिए ।
कार्यकारी निर्देशक डा पौडेलले निर्माण सुरु भएको एक वर्षमा भवन सम्पन्न हुने जनाउँदै त्यस लगत्तै सेवा सञ्चालन हुने बताए । भने, ‘चिनियाँ आफैँले निर्माण गर्ने भएकाले काम छिटो हुन्छ ।’ उपकरण खरिद पनि चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाले गर्ने भएकाले झन्झटिलो नहुने भन्दै उनले भवन निर्माण सम्पन्न भए लगत्तै उपकरण जडान गरेर सेवा सञ्चालन हुने बताए ।
कार्यकारी निर्देशक डा पौडेलका अनुसार भवन निर्माण र उपकरण खरिदपछि चितवनका जनशक्तिलाई तालिमसमेत चिनियाँ टोलीले उपलब्ध गराउने छ । उनले भने, ‘सम्पूर्ण तयारी पूरा गरेर अस्पताललाई हस्तान्तरण गर्ने हो । यो अस्पतालको निर्माणसमेत चिनियाँ सरकारको सहयोगमा भएको हो ।’




