
नुवाकोट । नुवाकोटको बेलकोटगढीलाई हरियाली सहित सौन्दर्यले भरिभराउ बनाउने अभियान अन्तरगत यहाँको मुख्य बजार क्षेत्रमा फूल र फलफूलको बिरुवा वृक्षारोपण अभियान थालिएको छ ।
नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत भए अनुसार नगरलाई सरसफाई सहित सुन्दर बनाउन वृक्षारोपण मार्फत सुन्दर नगरपालिका निर्माणको रचनात्मक कार्य सुरु गरिएको हो ।
‘हाम्रो नगर, सुन्दर नगर, सफा नगर’ बनाउने अभियान अन्तरगत बेलकोटगढी नगरपालिकाको मुख्य बजार क्षेत्रमा वृक्षारोपण सहित सरसफाई अभियान सुरु गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँको अनुसार बिहीबार बेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाट बजार क्षेत्रबाट वृक्षारोपण अभियानको शुभारम्भ भएकाले क्रमशः पालिकाको मुख्य बजार क्षेत्रमा सरसफाई सहित सौन्दर्यले भरिपूर्ण बनाई ‘सुन्दर नगर’ निर्माण गरिने छ ।
स–साना कार्य तर, रचनात्मक गतिविधि गर्दा नगरको विकासमा केन्द्रित हुँदै आएको बेलकोटगढीमा विकासको लहर जनताकै सहकार्यमा जनतासँग जोडिएर गर्न आफू लागिरहेको नगर उपप्रमुख शिवप्रसाद दाहालको भनाई छ ।
निर्वाचित प्रतिनिधिले नगरबासीको घरदैलोको सरकारको रुपमा स्थानीय सरकार रहेको अनुभूति दिलाउन उनीहरूको चाहना अनुसार सेवा पु¥याई जनताका स–साना गतिविधिमा जोडिने क्रममा वृक्षारोपण लगायतका सेवालाई अघि बढाएको उपप्रमुख दाहालले जानकारी दिनुभयो ।

ग्रामीण परिवेशलाई समावेश गरेर नगरपालिका बनाएसँगै विकासका धेरै गतिविधिलाई यहाँ आवश्यक देखिएको छ । त्यसको लागी स्थानीय सरकाले नगरबासीको चाहनामा क्षमता अनुसार क्रमशः सम्बोधन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरवासीका दैनिक जनजीवनलाई सहज बनाउन रचनात्मक कार्यमा नगरपालिका क्रियाशील रहेको छ । ठूला योजनाको लागी माथिल्ला तहका सरकारसँग सहकार्य गर्दै नगरलाई समृद्धतर्फ लम्काउन लागिरहेको उहाँको भनाई छ ।
बेलकोटगढीलाई समुन्नत, सुन्दर र समृद्धि बनाउन जनप्रतिनिधि, कर्मचारी र नगरबासीको संयुक्त प्रयासले मात्र सम्भव हुने भन्दै जनताका दैनिक जनजीविकासँग जोडिएका समस्या समाधान गर्न, पूर्वाधारको विकास सहित सुन्दर र हरियाली नगर बनाउन नगरले सरसफाई एवं वृक्षारोपणलाई अभियानको रुपमा सुरु गरेको जनाएको छ ।

आर्थिक विकास शाखा (कृषि)को आयोजनामा बिहीबारदेखि सुरु भएको सरसफाई सहित फूल र फलफूलको बिरुवा रोपण कार्यक्रम अन्तरगत वडा नं.७ महादेवफाटबाट प्रारम्भ भएको छ । यस क्षेत्रमा बिहीबार दुई सय बिरुवा रोपण गरिएको छ ।
यस अभियानलाई क्रमशः नगरको मुख्य बजार क्षेत्रका नगरबासीको चाहना अनुसार सञ्चालन गरिने जनाइएको छ । वृक्षारोपण अन्तरगत एभोकार्डो, आँप, ज्याकाराण्डा, गुलमोर लगायतका आकर्षक फूल र फलफुका बिरुवा सडकको दायाँबायाँ सहित मन्दिर, विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक सेवा प्रवाह गर्ने निकायका परिसरमा रोपण थालिएको हो ।