काठमाडौं । ताप्लेजुङमा शुक्रबार बिहानैदेखि तनाव उत्पन्न भएको छ । नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडपको स्थिति बनेको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी राजन लिम्बूको निलम्बन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले प्रदर्शन गरेको छ । उनीहरूले जिल्ला प्रहरी कार्यालयमा ढुंगासमेत प्रहार गरेका छन् । प्रहरीले भने हवाई फायर गरेको छ ।
तरुण दलका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । कांग्रेस प्रदेश सांसद खगेनसिंह हाङ्गाममाथि प्रहरीले कुटपिट गरेको भन्दै तरुण दल ुशुक्रबार बिहानैदेखि आन्दोलित भएको हो ।
बिहीबार बेलुका प्रहरीले सांसद हाङ्गामको निवासको ढोकामा लात्ती हान्नुका साथै आक्रमण गरेको भन्दै कांग्रेस र भ्रातृसंगठन आन्दोलित भएको हो । तरुण दलका ताप्लेजुङ जिल्लाको कार्यवाहक सभापति पृथ्वीमान पालुङ्वाले सांसदको निवासमा प्रहरीले नियोजित आक्रमणको गरेकाले विरोध प्रदर्शन गरेको बताएका छन् ।
बिहीबार दिउँसो जात्रामा एक युवतीलाई मदिरा सेवन गरेका सुरक्षाकर्मीले छेडछाड गरेपछि कांग्रेस नेता कार्यकर्ताले सम्झाएका थिए । सोही विषयमा डिएसपी लिम्बूको नेतृत्वमा हतियारसहित गएको प्रहरीको टोलीले सांसद हाङ्गामको निवासमा हूलहुज्जत गरेको थियो ।




