काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी संविधान बनाउने नेतृत्व गरेको कांग्रेस सधैँ समावेशिताको पक्षमा रहेको बताएका छन् । मंगलबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले २९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा गरेको कार्यक्रममा सभापति देउवाले आदिवासी जनजाति समुदायका विभिन्न झाँकीमा सहभागि भएर यस्तो बताएका हुन् ।
नेपाल प्राकृतिकरुपमा मात्रै हैन जातजाति, भाषाभाषी र संस्कृतिका आधारमा पनि विविधतायुक्त रहेको सभापति देउवाले बताए । प्राकृतिक, जातजाति, भेषभूषा र कला संस्कृतिले भरिपूर्ण देश नेपालमा सबै सम्मान रहेको बताउँदै सबै कुराहरू देशका साझा सम्पत्ति भएको उल्लेख गरेका हुन् । यी सबै कुरालाई संरक्षण र संवर्द्धन गर्दै बहुसांस्कृतिक देशका रुपमा नेपाललाई चिनाउन सक्षम हुने उनले बताए ।
कांग्रेस सभापति देउवाले कांग्रेस सधैँ समावेशिताको पक्षमा रहेकाले संविधानमा उल्लेख गरिएको समावेशीतालाई आत्मासात गर्दै पाटी अघि बढेको बताएका हुन् । जातजाति,भाषाभाषी , धर्मसंस्कृति र कला साहित्य देशको सम्पति भएकाले कसैले पनि विभेद गर्न नहुने समेत उनले बताए ।




