काठमाडौँ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।
आज राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए ।
त्यसपछि दाहालले एक सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएकाले यसको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका थिए ।
गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट नबाहिरिने भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ नैतिकताका आधारमा पनि पदमा बस्न नमिल्ने दाहालको जिकिर थियो ।
उनले संसदीय उच्चस्तरीय छानबिन समिति गठन भएमा राष्ट्रिय सभालाई पनि सहभागी गराउनुपर्ने माग गरे ।




