काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दैछ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज बिहान शीर्षनेतासहित पदाधिकारी बैठक बस्न लागेको हो ।
बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा छलफल हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शुक्रबारको बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे नेताहरुबीच छलफल भएको थियो । तर, ठोस निर्णय हुन सकेन । त्यसैले आजको बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।
हिजोको बैठकमा सभापति देउवाले भदौ १६–१९ सम्मको केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी स्थानीय तहको कार्यतालिका फेरबदल गर्न निर्देशन दिएका थिए ।
कार्यतालिकाअनुसार साउन १२ गते वडा अधिवेशन हुनुपर्नेमा अहिलेसम्म क्रियाशील सदस्यता टुंगिएको छैन । कांग्रेसलाई भदौभित्र महाधिवेशन गर्नै पर्ने कानुनी बाध्यता छ । पाँच वर्षमा केन्द्रीय प्रदेश तहका पदाधिकारीको निर्वाचन गर्नैपर्ने कानुनी व्यवस्था छ । तर कुनै कारणले पाँच वर्षमा निर्वाचन गर्न सम्भव नभए राजनीतिक दलसम्बन्धी ऐनले थप ६ महिनाको सुविधा दिएकाले भदौ २३ गतेभित्र कांग्रेसको केन्द्रीय महाधिवेशन गर्नै पर्ने हुन्छ ।
वडा र क्षेत्रीय अधिवेशन गरेर एकैपटक केन्द्रीय महाधिवेशन गर्ने र अन्य पाँचवटा अधिवेशन महाधिवेशनपछि गर्नेबारे छलफल भइरहेको छ ।




