काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएका ५२ नेपालीको शव तत्काल नेपाल फर्काउन नेपाली जनसम्पर्क समिति मलेसियाले सरकारसँग माग गरेको छ ।
नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएका ५२ नेपालीको शव तत्काल स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् ।
उनले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएकाको शव तत्काल नेपाल फर्काएर परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाइदिन सरकारसँग पहल गरिदिन नेपाली कांग्रेस केन्दीय कार्यालयमार्फत पंगेनीले आग्रह गरेका छन् । हप्तामा तीन दिन मलेसियाको उडान खुले पनि ती जहाजले नेपाल शव नल्याएका कारण लामो समयदेखि मलेसियामा शव थन्किएको उनले बताए । कोरोनाका कारण लामो समयदेखि उडान हुन नसकेको थिएन । नेपालीको शव ल्याउन सरकार गम्भीर बन्नुपर्ने उनले बताए ।
दूतावासले अभिभावकत्व ग्रहण गरे पनि सरकारले पहलकदमी नगर्दा शव नेपाल फर्काउन समस्या भएको उनको भनाइ छ । मलेसियामा दैनिक कोरोना संक्रमितको संख्या बढिरहे पनि दूतावासको पहलमा उपचारविहीन बन्ने अवस्था नभएको उनी बताउँछन् । मलेसियन सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको भ्याक्सिन र कोरोनासम्वन्धी उपचार विनाभेदभाव पाएको उनले बताए । राजनीतिक खिचातानीमा नअल्झी व्यक्तिगत इन्ट्रेस छाडेर मलेसियामा रहेका संघसंगठनलाई श्रमिकका छायाँ परेका मुद्दमा साझा धारणा बनाएर अघि बढ्न उनको आग्रह छ ।




