काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले प्रधानमन्त्री केपी ओलीमाथि जवाफी हमला गरेका छन् ।
ओलीले बुधबार एक कार्यक्रममा कांग्रेसको सरकारका पालामा चलेको डोजरको फोटो देखाएर अहिले चुरे दोहन भएको भन्दै आफ्नो सरकारको विरोध गरेको अभिव्यक्ति दिएका थिए । ओलीको सो अभिव्यक्तिप्रति नेता गुरुङले बिहीबार दिउँसो कडा जवाफ दिएका छन् ।
नेता गुरुङले सामाजिक सञ्जालमार्फत साढे तीन वर्षदेखि ओली प्रधानमन्त्री भएयता एउटा पनि डोजर चलेको छैन भनेर प्रश्नसमेत गरेका छन् । उनले कांग्रेसको पालामा चलेको डोजरको फोटोमा देखाइएको तर ओलीको पालामा चलेको रेल र पानीजहाजको फोटो किन नदेखाएको भन्दै आलोचना गरेका छन् ।
‘कांग्रेसको पालामा चलेको डोजरको फोटो देखाएर चुरे मासियो भन्दैछन्। प्रम ओली। त्यही त प्रमज्यू, तपाईं प्र.म भएको साढे तीन वर्षदेखि त एउटा पनि डोजर चलेकै छैन। बरु हजुरको पालामा चलाएको रेल र पानीजहाजको फोटो भने कहिल्यै देखाउँदैनन्। प्रमज्यूप्रति साह्रै अन्याय भयो हजुर,’ उनले लेखेका छन् ।




