देश

लुम्बिनी सरकारको नीति तथा कार्यक्रमविरुद्ध उभिन जसपाको ह्विप, शंकर पोखरेललाई संकट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा उभिन ह्वीप जारी गरेको छ। जसपाको यो ह्विपसँगै मुख्यमन्त्री शंकर पोखरेलको पद संकटमा परेको छ ।

संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको प्रमुख सचेतक पुर्मति ढेंगा मगरले बताएकी छन्।

लुम्बिनीमा जसपाका ६ जना सांसदमध्ये चारजना महन्थ–राजेन्द्र पक्षमा छन्। बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षमा दुईजना छन्। जसपाको ह्विपअनुसार पोखरेल नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्नुपर्ने हुन्छ । यदि जसपाको ह्विप उल्लंघन गरेमा उनीहरूलाई पार्टीले कारबाही गर्न सक्छ ।

चारैजना जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका हुन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले यसअघि कारबाही गरेपछि उनीहरूको सांसद पद गुमेको थियो। सर्वोच्चले उनीहरुलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि चारैजनाको पद थमौती भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *