काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले आफूमाथि लगाएको आरोपको निन्दा र भत्र्सना गरेका छन् । ओलीले एमाले र माओवादी केन्द्रबीच प्रचण्डको कारण एकताको प्रयास सफल नभएको दाबी गरेपछि प्रचण्ड सचिवालयले सोमबार सो भनाइको खण्डन गर्दै ओलीको भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण रहेको टिप्पणी गरेको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु,’ प्रचण्डको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ओलीले आइतबार राति पार्टी एकता कायम गर्न भन्दै जारी गरेको ६ बुँदे अपिलमा प्रचण्डकै कारण नेकपा एकता कायम गर्न नसकिएको भन्दै आरोप लगाएका थिए ।




