काठमाडौं । कांग्रेस भ्रातृसंस्था नेपाल तरुण दलले नेपालगन्जस्थित भेरी अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गर्दै बिरामीको उपचारमा दिनरात खटिने डाक्टर र नर्समाथि आक्रमण गर्ने घटनाको विरोध जनाउँदै कानुनी कारबाही गर्न माग गरेका हुन् ।
समाजको अग्रपंक्तिमा उभिएर सेवाप्रदान गर्ने पेसा समुदायप्रति हुँदै आएको दुर्व्यवहार, अपहेलना र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको तरुण दलले जनाएको छ ।
‘नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात नभनी हरपल खटिरहेका छन्। समाजको अग्रपंक्तिमा उभिएर सेवाप्रदान गर्ने पेशा समुदायप्रति हुँदै आएको दुर्व्यवहार, अपहेलना र आक्रमणप्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्न जोसुकै होस्, कारबाहीको दायरामा ल्याइयोस् ।’




