काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको संसद् छल्ने प्रवृत्तिको कटु आलोचना गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा थापाले ओलीलाई संसद्बाट भागेर होइन, के के विकास भएका छन् आएर बहस गर्न चुनौती दिएका छन् । ‘हुक्के चिलिमेहरु राखेर तपाईंले माथिबाट ठोक्ने तलबाट ताली बजाउनेरु कहाँ चमत्कार भएको छ, संसदमा आउनुस् प्रधानमन्त्रीज्यू बहस गरौँ। संसदलाई छलेर भागेर होइन यहाँ आउनुस्,’ उनले भने ।
नेता थापाले नेपालको इतिहासमा सबैभन्दा बढी अवसर पाएको अवस्थामा सरकारले तीन वर्षको अवधिमा काम कति गर्यो भन्ने विषयमा तथ्य, तथ्यांकमा बहस गर्न ओलीलाई चुनौती दिएका छन् । ओलीले गर्नुपर्ने काम नगरेर जथाभावी गर्दै हिँडेको थापाको आरोप छ ।
‘संसद्लाई छलेर, भागेर होइन, यहीँभित्र आएर छलफल गरौँ । शिलान्यास, उदघाटन गर्ने रहर हो भने बालुवाटारमा खाली जग्गा छ, त्यहीँ गर्नुहोला,’ उनले भने ।




