काठमाडौं । नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् ।
एएफसीले १ अप्रिलमा सार्वजनिक गरेको मार्च अन्तिम साताका उत्कृष्ट खेलाडीहरुमध्ये ५५ दशमलव ६९ प्रतिशत मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द वीक’ बनेका हुन् ।
१० खेलाडीबीच गरिएको प्रतिस्पर्धामा दोस्रो स्थानमा रहेका साउदी अरवका सलेह अल सेहरीले २०.७२ प्रतिशत तथा तेस्रो स्थानका इराकका अला अली मवाइले १०.१६ प्रतिशत मत ल्याए ।
राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनका आधारमा उत्कृष्ट १० छनोट गरी एएफसीले सर्वेक्षण गरेको थियो । चेम्जोङकै नेतृत्वमा हालै नेपालले थ्री नेशन्स कपको उपाधि जितेको थियो । किरण हालै भारतको आईलिगका उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।
उत्कृष्ट १० मा यूएईका अली मबखोट (१ प्रतिशत), कतारका मोहम्मद मुन्तारी (०.२७ प्रतिशत), जापानका युया ओसाको (०.२३ प्रतिशतं), इरानका सरदार अज्मोन (७.५१ प्रतिशत), बहराइनका मोहम्मद मरहून (१.१५ प्रतिशत), जोर्डनका मुसा अल तामारी (२.९६ प्रतिशत) र ताजिकिस्तानका अलिसर जालिलोच (०.३ प्रतिशत) मत ल्याए ।




