देश

संसद विघठनमा जसपाभित्र दुई धार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेपछि नेकपा राजनीतिक रुपमा विभाजन भएको छ । राजनीतिक रुपमा विभाजन भएको दाहाल नेपाल समूहको नेकपाले ओली सरकार विरुद्ध देशव्यापी आन्दोलन गरिरहेको अवस्थामा जनता समाजवादी पार्टीभित्र भने दुई धार देखिएका छन् ।

संसद विघटनालई लिएर जसपा दुई धारमा विभाजित भएको छ । पुस ५ मा संसद् विघटन गरेसँगै सो विषयलाई लिएर प्रायः सबै राजनीतिक दल दुई धारमा विभाजित भइरहेका बेला जसपा दुई धारमा विभाजन भएको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरुले संसद पुनःस्थापना नै हुनुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधर संसद पुनःस्थापना नभए चुनावका लागि तयार रहनुपर्ने पक्षमा छन् । संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले संसद पुनःस्थापनाको विकल्प नरहेको बताएका छन् । भट्टराईले भने, ‘संसद मरेको छैन, ओलीले मुर्छित पारेर राख्नुभएको छ यसलाई जिवित गर्न सकिन्छ ।’ अदालतबाट नै संसद पुनःस्थापना हुने कुरामा आफूलाई विश्वास रहेको बताउँदै उनले यदि त्यसबाट पनि भएन भने संसद नमर्ने उनले दाबी गरे । ु

यता, जसपा नेपालका कार्यकारिणी समितिका सदस्य एवम् प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले यो आन्दोलन संसद पुनःस्थापनाको लागि मात्र नभएको बताए । उनले मधेशको अधिकार सुनिश्चित गराउनका लागि पनि आन्दोलन भइरहेको बताए त्यस्तै, जनता समाजवादी पार्टीका नेता शरतसिंह यादवले जसपा नेपालका लागि संसद पुनःस्थापना र चुनाव दुवै विकल्प रहेको बताए । उनले भने, ‘संसद् पुनःस्थापनाको बारेमा सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई जसपा नेपालले स्वागत गर्छ ।’ लोकतन्त्र जोगाउनका लागि संसद पुनःस्थापना मात्र एउटा विकल्प नहुने बताउँदै चुनाव पनि अर्को विकल्प भएको उनले स्पष्ट पारे । उनले संसद पुनःस्थापना भए भैहाल्यो नभए चुनावमा जाँदा नै उत्तम हुने बताए । उनले अगाडि भने, ‘संसद पुनःस्थापनाका लागि सडकमा संघर्ष गरिरहने र भित्रभित्रै अर्कै खेल भइदियो भने त्यसको जिम्मेवारी कसले लिने, भुँईको टिप्दा गोजीको पोखिएजस्तो नहोस् ।’

जसपा नेपालले अहिले दोस्रो चरणको आन्दोलनको कार्यक्रम गरिरहेको छ । आन्दोलनमा बोल्ने नेताहरुका धारणा पनि फरक–फरक आइरहेका छन् । सत्तारुढ दल नेकपामा सो विषयलाई लिएर विभाजित भएपछि एउटा ओली समूह सरकारको बचाउमा देश दौडाहमा रहेको छ । साथै दाहाल नेपाल समूह भने विरोध सभा गर्दै आएको छ । कांग्रेस पनि देशव्यापी रुपमै विरोधमा छ । तर नेकपा दाहाल नेपाल समूह जस्तो कडा रुपमा प्रस्तुत भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *