देश

दस्तुर छुट भएपछि बाँकेमा उद्योग दर्ता गर्ने बढ्यो

राँझा । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३ सय ५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि प्रदेश सरकारले दर्ता दस्तुरमा पूर्णरुपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँकेमा उत्साहजनक रुपमा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारुले जानकारी दिए ।

उनकाअनुसार, चालु आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १ सय ३४ उद्योग दर्ता भएकोमा भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएको एक महिनामै ३ सय ५९ उद्योग दर्ता भएका छन् ।

प्रदेश सरकारको गत भदौ २३ गते गतदेखि लागू हुने गरी घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि दर्ता दस्तुरमा पूर्णरुपमा छुट गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन आएपछि गत भदौ २४ देखि असोज २४ गतेसम्म एक महिनाको अवधिमा मात्रै ३ सय ५९ उद्योग दर्ता भएको प्रमुख उद्योग अधिकृत थारुले बताए ।

“रु पाँच लाखसम्मको पूँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग दर्ता स्थानीय तहमै हुने व्यवस्था छ, पाँच लाखभन्दा बढी पूँजीमा सञ्चालन हुने उद्योग हामीकहाँ दर्ता हुनुपर्दछ”, उनले भने, “उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि अहिले धमाधम उद्योग दर्ता भइरहेका छन् ।”

रु २० लाख सम्मको पूँजीमा सञ्चालन हुने उद्योगको रु पाँच हजार, रु २० लाखदेखि रु ५० लाखसम्मको रु १५ हजार र रु ५० लाखदेखि माथिको पूँजीमा सञ्चालन हुने उद्योग दर्ताको लागि रु २५ हजार दर्ता दस्तुर रहेको थियो । प्रदेश सरकारको निर्णय पछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरुपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारुले जानकारी दिए ।

घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले लुम्बिनी प्रदेश सरकारको घरेलु तथा साना उद्योग दर्ता दस्तुर छुट गर्ने निर्णयले उद्योगधन्दा सञ्चालन गर्न चाहने उद्यमीलाई ठूलो प्रोत्साहन मिलेको बताए । दर्ता दस्तुर छुटपछि अहिले धमाधम घरेलु तथा साना उद्योग दर्ता भइरहेको बताउँदै उनले महासंघले नयाँ उद्योगीलाई व्यावसायिक योजना र आवश्यक परामर्श दिने कार्य गर्दै आएको उल्लेख गरे ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *