टीकापुर । सशस्त्र द्वन्द्वपछि चहलपहल सेलाएको सयौँ वर्ष पुरानो सत्ती बजारले आफ्नो मुहार फेर्न सकेको छैन ।
विगतमा कैलालीकै चर्चित बजारका रूपमा स्थापित सत्ती बजारले शान्ति स्थापनापछि पनि मुहार फेर्न सकेन । सशस्त्र द्वन्द्वपछि विस्थापित भएका त्यहाँका सरकारी कार्यालय तथा ठूला व्यापारी पुनः स्थापित हुन नसक्दा व्यापारिक दृष्टिकोणले सत्ती पछाडि परेको हो ।
सशस्त्र द्वन्द्वका वेला यहाँ रहेका प्रहरी चौकी, साल्ट ट्रेडिङ, वाणिज्य बैंकलगायत दर्जन बढी कार्यालय विस्थापित भएका थिए । शान्ति स्थापनापछि प्रहरी चौकीलगायत केही कार्यालय पुनः स्थापना भएका छन् तर बजार भने स्थापित हुनसकेको छैन । “गत वर्ष वाणिज्य बैंक पनि पुनः स्थापना भएको छ । अझै आधा दर्जन सरकारी कार्यालय फर्कन सकेका छैनन्”, साविक नारायणपुर गाविसका पूर्वअध्यक्ष फकिरसिंह कडायत भनछन्, “साल्ड ट्रेडिङको कार्यालय, बैंकको सटही कार्यालय, पशु क्वारेन्टिनजस्ता कार्यालय अझै पुनः स्थापना हुनसकेका छैनन्, सरकारी कार्यालय भए पो यहाँको विकासमा मद्दत पुग्छ ।”
पूर्वअध्यक्ष कडायतकाअनुसार सत्ती बजार हटिया बजारका रूपमा स्थापना भएको बजार हो । यो बजार करिब २ सय वर्षभन्दा पुरानो रहेको बताइएको छ । हटिया बजारका रूपमा विकास गरिएको सत्तीपछि खाद्यान्न खरिद बिक्रीका रूपमा विकास भयो । “यहाँ पदमप्रकाशेश्वर मन्दिर छ । त्यो मन्दिर ५ सय वर्ष पुरानो रहेको बताइन्छ, मन्दिर हेर्दा पनि यो बजार अझ पुरानो हो भनेर बुझ्न सकिन्छ”, पूर्वअध्यक्ष कडायत भनछन्, “यहाँ दर्जनौँ ठूला उद्योग र मिलहरु थिए । सशस्त्र द्वन्द्वमा सबै बन्द भए । दुगडलगायतका राष्ट्रियस्तरका व्यापारीले व्यापार गर्थे, उनीहरु सबै विस्थापित भए । उनीहरु अहिलेसम्म फर्कन सकेका छैनन् ।”
सशस्त्र द्वन्द्वअघि यहाँ निकै चहलपहल र व्यापार हुन्थ्यो । किनमेल गर्ने मानिसको निकै भीडभाड हुन्थ्यो । अन्य समयभन्दा सत्ती बजारमा धान, गहुँ खरिद बिक्रीका समयमा बढी भीडभाड हुने गर्थ्यो । यहाँ कैलालीका पूर्वी क्षेत्र सुखड, पहलमानपुर, भजनी, बौनिया, लम्कीलगायत क्षेत्रका किसानले धान र गहुँ बिक्रीका लागि सत्ती पुग्नुपर्थ्यो । “कैलालीका आधा नागरिकको किनमेल गर्ने, खाद्यान्न बिक्री गर्ने बजार सत्ती थियो”, स्थानीयवासी शारदा तिमिल्सिनाले भनिन्, “हाल यहाँ व्यापारी आउन छाडे । यहाँ धान, गहुँ खरिद गर्नका लागि भारतीय नागरिकसमेत आएर बस्ने गर्थे । यहाँको अन्नपात खरिद गरेर उनीहरुले लिने गर्थे र पैसा दिएर जान्थे ।” हाल ठूला व्यापारी आउन नसकेको उनी बताउँछिन् ।
खाद्यान्न खरिद बिक्री हुने भएकाले सत्ती बजारलाई गल्लामण्डीका रूपमा पनि चिनिथ्यो । स्थानीय देवेन्द्र जैशी त्यो बेला यहाँका घरहरु स–साना हुन्थे तर खाद्यान्नका थुप्रा भने घरभन्दा ठूला रहेको सम्झन्छन् । ‘‘यहाँ खरिद गरेको खाद्यान्न केही सिधैँ भारततिर लगिन्थ्यो भने केही यतै कुटानी पिसानी गरेर बिक्री वितरण गरिन्थ्यो”, उनी भन्छन्, “साविकको नारायणपुर गाविसमा एक दर्जन बढी कुटानी पिसानी गर्ने मिल खोलिएका थिए । मिल खुलेका कारण यहाँका धेरैले रोजागरीसमेत पाएका थिए । यहाँका नागरिकलाई जीविकोपार्जनमा टेवा पुगेको थियो ।”
स्थानीय सरकारदेखि सबै तहका सरकारले सशस्त्र द्वन्द्व र अन्य असुविधाका कारण पलायन भएका व्यापारी वा लगानीकर्तालाई फर्कने वातावरण बनाउन माग गर्दै आएका छन् । “यहाँका राजनीतिक दलसहित स्थानीय नागरिकले वर्षेनी सरकारलाई ठूला उद्योग र कार्यालय पुनः स्थपना गरिदिन माग गर्दै आएका छन्”, स्थानीयवासी हरि चौधरी भनछन्, “पछिल्लो समय स्थानीय सरकारले पनि माग उठाइरहेको छ, तर सत्ती बजारको मुहार फर्कने आशा हराउँदै गएको छ ।”
कुनै पनि ठाउँको विकासका लागि कलकारखाना वा व्यापार व्यावसाय सञ्चालन हुनुपर्ने भएकाले यहाँका व्यापारिक विकासका आधारलाई सरकारले पुनः स्थापना गरिदिनुपर्ने माग चौधरीको छ । “यहाँ सञ्चालनमा रहेका मिल बन्द भएर खण्डहरमा परिणत भएका छन्”, टीकापुर–७ का वडाध्यक्ष रामलाल चौधरी भन्छन्, “करौडौँ लगानीका संरचना खिया लागेर खेर गएका छन् । सरकारले यी संरचना मर्मत गरी प्रयोगमा ल्याउन सके करोडौंको सम्पत्ति जोगाउन सकिन्छ ।”




