देश

पुनः निर्माणमा छुटेको गाउँ

धादिङ- बिनासकारी भूकम्पले घर लडेपछि छिमेकी गाउँका सबैजसोले लाभग्राहीको सूचिमा परेर सरकारी अनुदान पाए तर गजुरी गाउँपालिका वडा नम्बर ५ राई गाउँका केही घरबाहेक अधिकांश लाग्राहीको सूचिमा दर्ता हुन पाएनन् ।
गाउँभरीका १६३ घरमध्ये ४९ घरपरिवार अझैसम्म पनि लाभग्रहीमा पर्न नसकेकाले सरकारले दिने राहत पाउन नसकेको वडा सदस्य मङ्गल राइले बताए ।

जब भूकम्पले घर भत्कायो तब सबै मानिसको घरमा बस्न नहुने अवस्था आयो । सरकारले निजी आवास पुनःनिर्माणको काम थालेपछि गाउँमा आएका इन्जिनियरले सबैको घरको अनुगमन गरे तर केही मानिसका लागि मात्र अनुदान पाउनेमा राखेकाले आफूहरू समस्यामा परेको पीडितहरूको गुनासो छ ।

धेरै पटकको जनप्रतिनिधिहरूको पहल र गाउँबासीको माग पछि केहीमात्र भूकम्प पीडितहरूको घर बनाउन लाभग्राही सूचिमा नाम पारेपनि अझै धेरै मानिस छुटेको चनमती राईले बताए । शहरबाट आएका इन्जिनियरहरूलाई आफूले खाना खुवाएर गाउँ घुमाएकामा आफ्नै घर पनि नपरेको र केही समयअघि पुनःनिर्माण प्राधिकरणमा निवेदन दिनुपरेको उनको गुनासो थियो । गाउँबासीको धेरै किसिमका गुनासा छन् । नाम छुटेको, निवेदन दिन जाँदा आफूहरूको कुरा नसुनेको र निवेदन नै नलिएकोजस्ता धेरै उनीहरूको भनाइ थियो ।

जिल्लामा पुनः निर्माणको कामले तिब्रता लिएको र केही गाउँमा मात्र धेरै लाभग्राही हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख इन्जिनियर राकेशराज मिश्रले बताए।
जिल्लामा ८४ हजार ७६२ घर लाभग्राहीको सूचिमा दर्ता भएपनि हालसम्म ८० हजार १९५ लाभग्रहीले मात्र पहिलो किस्ता लिएका र ६४ हजार ७३६ लाभग्रहीलेमात्र घर निर्माण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *