हुम्ला- कोरोना त्रासका कारण २०७६ साल चैत ११ पछि बन्द भएको हुम्लाको उत्तरी हिल्सा नाका आजसम्म खुलेको छैन । यो नाका बन्द भएको सात महिना भएको छ ।
कोभिड–१९ संक्रमणलाई कारण देखाउदै छिमेकी देश चीनसँग जोडिएको हुम्लाको हिल्सा नाका सात महिनादेखि ठप्प भएपछिनेपाल–चीनबिच हुँदै आएको आयात निर्यात नराम्रोसँग प्रभावित भएको छ ।यसले नेपाल-चीनको मैत्रीपूर्ण लगानी समेत रोकिएको र साना मझौला,ठूला व्यवसाय आर्थिक संकटमा परेका छन । हिल्सा नाका बन्द भएसँगै हिल्साका व्यवसायीदेखि प्रहरी,सशष्त्र प्रहरीलाई नुन, तेल लगायतका सामानहरुको समस्या देखिन थालेको छ ।
सात महिनादेखि हिल्सा नाका आवतजावत बन्द भएसँगै प्रत्येक वर्ष मानसरोवर कैलाश दर्शन गर्न यो बर्ष कोहीपनि तीर्थयात्री गएनन् । चीनको ताक्लाकोटबाट भित्रिने दैनिक उपभोग्य वस्तु, विकास निर्माणका सामानहरु रोकिएका छन् ।
यसै सन्दर्भमा गत असोज २ गते छिमेकी देश चीनसँग जोडिएको हुम्ला जिल्लाको हिल्सा नाका सञ्चालन गराउन हुम्ला उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापन पत्र बुझाएको थियो ।तर स्थानीय प्रशासनले उद्योग वाणिज्य संघको मागलाई सुनुवाई समेत नगरेको उद्योग वाणिज्य संघ हुम्लाले जनाएको छ ।
विगत ७ महिनादेखि बन्द हिल्सा नाकालाई सहज बनाउन आग्रह गरेपनि केही सुनुवाई नभएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङले बताए ।हिल्सा नाका बन्दा हुदा हुम्लास्थित होटेल र पसलमा झण्डै पाँच करोड घाटा भएको होटेल संघ हुम्लाले जनाएको छ । लकडाउनले भारतीय तिर्थयात्री नआएपछि ६० लाखदेखि एक करोडसम्म घाटा भएको होटेल व्यवसायीहरुको भनाइ छ ।




