देश

‘पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्’

पाँचथर। पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको संख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी नेपालमा भए पनि यहाँसम्म पर्यटक ल्याउने माध्यम कमजोर भएको पर्यटन व्यवसायीले बताएका हुन् ।

सरकारी र निजी क्षेत्रबाट प्रभावकारी प्रयत्न नहुँदा यहाँ पर्यटकका लागि उपयुक्त पूर्वाधार बन्न नसकेको तथा भएका गन्तव्यको समेत प्रचार हुन नसकेको व्यवसायीको ठम्याइ छ । पर्यटन विकासमार्फत् विकास र समृद्धि हासिल गर्ने कुरा व्यवसायीको मात्रै चिन्ताको विषय बन्ने गरेको उनीहरुको गुनासो छ ।

हालै पाँचथरको फिदिमस्थित पौवाभञ्ज्याङमा भेला भएका पाँचथर, इलाम र झापाका पर्यटन व्यवसायीले प्रचार र पूर्वाधारको अभाव रहेको ठह¥याउँदै पूर्वी नेपालको पर्यटन विकासका लागि व्यवस्थित पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिने निष्कर्ष निकालेको हो । साविक मेची अञ्चलका पर्यटन व्यवसायीलाई संगठित गर्दै आएको मेची पर्यटन कोरिडोरका अध्यक्ष रमेश दंगालले भने, ‘भारतका पर्यटकहरु नेपाल भन्नेबित्तिकै काठमाडौँ, पोखरा र चितवन बुझ्छन् तर त्यत्तिकै आकर्षक पूर्वका गन्तव्यबारे उनीहरुलाई थाहा हुँदैन ।’

व्यवसायी दंगाल पूर्वमा पर्यटन विकासमा सरकारी र निजी क्षेत्र एकदमै पछि रहेको बताउँछन् । ‘सरकारी लगानी त छैन नै, आएका पर्यटकको सेवा दिने व्यक्ति तथा संस्थाहरुसमेत अत्यन्तै कम छन,’ दंगालले थपे, ‘प्रचारप्रसार र पूर्वाधार विकासमा सबैले साझेदारी गर्नुपर्छ ।’

पर्यटन व्यवसायी नेत्र कार्की आन्तरिक पर्यटन प्रवद्र्धन हुन नसकेको वताउँछन् । ‘आन्तरिक पर्यटन प्रवद्र्धनले मात्रै बाह्य पर्यटक ल्याउने र प्रचारप्रसारलाई व्यवस्थित गर्न मद्दत गर्छ,’ कार्कीले भने, ‘पश्चिमका पर्यटक पूर्वमा घुम्न आउँदैनन् । बरु सिक्किम दार्जिलिङ पुग्छन् ।’ निश्चित पर्यटकीय गन्तव्यलाई व्यापक प्रचार र प्रवद्र्धन गरी पूर्वमा रहेका अन्य गन्तव्यको पनि विकास गर्नुपर्नेमा कार्कीको जोड छ । ‘हामी भए जति सबै ठाउँलाई विकास गर्न लाग्दा कुनै पनि गन्तव्य अन्तर्राष्ट्रियस्तरमा प्रचार हुन सकेनन्,’ कार्कीले भने, ‘त्यसैले पूर्वलाई चिनाउन लागौँ ।’

होटल ब्यवसायी देवीप्रसाद पौडेल घरबासको प्रवद्र्धन, ग्रामीण, धार्मिक र कृषि पर्यटनमा जोड दिनुपर्ने बताउँछन् । पर्यटकहरुको स्वागत तथा सत्कार गर्न, उपयुक्त सेवा दिन तथा उपयुक्त वातावरण बनाउन पूर्वको समाज तयार भइनसकेको वताउँछन् । विशेषतः विदेशी पर्यटकले घुम्ने उपयुक्त वातावरण नपाउने गरेकाले पपर्यटन विकासले अपेक्षित गति नलिएको उनीहरुको साझा धारणा छ ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरलाल चिपालु पर्यटनले देशको विकास र स्थानीयवासीको आम्दानी वृद्धिमा सघाउँछ भन्ने चेत नै भर्खर मात्रै खुलेको बताउँछन् । अहिले पर्यटन विकासमा देखिएको तदारुकता आगामी दिनमा समेत निरन्तर रहनुपर्ने उनको भनाइ छ ।

प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबे संघीय संरचनाले पर्यटन विकासलाई द्रुत गतिमा अघि बढाउन सघाउ पुर्‍याएको बताउँछिन् । ‘हिजो संघ सरकारले मात्रै आँखा पुर्‍याउन नसक्दा पूर्वका पर्यटकीय गन्तव्य पछि परेकै हुन्,’ सभापति थेबेले भनिन्, ‘अहिले प्रदेश र स्थानीय सरकारले समेत प्रशस्त लगानी गरी पर्यटकीय गतिविधि वृद्धि गरेका छन् । यसमा संघ सरकारले समेत सघाउ पु¥याउने अवसर पाएको छ ।’ उनले कृषि, ग्रामीण र धार्मिक पर्यटन प्रवद्र्धन, घरबासको विकास एवम् पर्यटकीय वातावरण निर्माणमा लाग्न सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *