सोलुखुम्बु । नेपाल सरकारले यही असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गरेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना संक्रमणको त्रास बढेको छ । अहिले सडक तथा हवाई मार्ग हुँदै देशको जुनसकै क्षेत्रबाट नागरिक निर्बाध आउने क्रम बढेको छ ।
विगतका दिनमा शहरबाट नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै खबर सोध्न र कोसेली बुझ्न झुम्मिने छिमेकी अहिले परपरै भाग्ने गरेका छन् । अहिले न त कोसेलीको आश छ न त नयाँ खबर बुझ्ने इच्छा ? शहरबाट आउनेसँग कोरोना संक्रमण हुन सक्ने भएकाले कोसेली त के भेट्नसम्म नपाए हुन्थ्यो भन्नेको सङ्ख्या बढी पाइन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्क हेर्दा असोज १ गतेदेखि बुधबार बिहानसम्म सडक हुँदै एक हजार ९ सय २३ जना जिल्ला भित्रिएका छन् । ट्राफिक प्रहरी इञ्चार्ज कृष्ण कटुवालका अनुसार उनीहरु ३ सय ९५ सुमो र १ सय ५० वटा बसमार्फत जिल्ला भित्रिएका हुन् ।
जिल्ला भित्रिएका नागरिकको न त पिसिआर परीक्षण छ न त क्वारेन्टिनमा राख्ने र बस्ने स्पष्ट निर्देशन नै जारी गरिएको छ । यसले जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाउँदै स्थानीयवासीले चिन्ता व्यक्त गरेका हुन् ।
नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको सङ्ख्या बढदै जाँदा यातायात सञ्चालनले गाउँबस्तीमा समेत कोरोना फैलन सक्ने नेचासल्यान गाउँपालिकाका हिमबहादुर बस्नेत चिन्ता व्यक्त गर्छन् ।
सुरुवाती चरणमा स्थानीय सरकारले बाहिरी जिल्लाबाट आएका नागरिकलाई क्वारेन्टिनमा राख्ने, आवगमनमा कडाइ गर्ने, सीमानाकामा जाँच गरे पनि अहिले कति नागरिक गाउँपालिका भित्रिए भन्नेसमेत तथ्याङ्क राख्न सकेका छैनन् ।
गाउँघरमा आएका नागरिकसमेत खुला रुपमा हिँडडुल गर्दा कोरोना संक्रमण भयावह स्थितिमा पुग्ने बस्नेतको अनुमान छ । जिल्ला भित्रिने मुख्य नाका सोलु दूधकुण्ड नगरपालिका पत्ताले भए पनि नगरपालिकाँग भने के कति नागरिक जिल्ला भित्रिए भन्ने तथ्याङ्क छैन ।
संघीय सरकारले नै लामो दूरीको यातायात सञ्चालन गरेपछि स्थानीय तहमा भित्रने नागरिकका विषयका समन्वयमा समेत समस्या भएको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ ।“जिल्ला बाहिरबाट आएका नागरिकको व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको छ ”, अध्यक्ष राईले भने, “स्थानीय नागरिक सचेत हुनुको विकल्प छैन ।”
लामो दूरीको यातायात र हवाई उडानसमेत सञ्चालन भएसँगै दसैँतिहारका लागि नागरिक आउने क्रम बाक्लिएको छ । असोजको पहिलो सातादेखि जिल्लाका सबै क्षेत्रमा विद्यालयसमेत सञ्चालन भइसकेको छ । यस अवस्थामा खुला आवागमन तथा व्यवस्थापनमा ध्यान नपुग्नाले आगामी दिनको अवस्था जटिल हुने स्थानीय नागरिक बताउँछन् ।
समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलन सक्ने अनुमान गरिरहँदा जिल्लामा कोरोना परीक्षणसमेत हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेल स्वीकार गर्छन् ।
नेपालमा कोरोनाको महामारी नफैलिँदा नै क्वारेन्टिनमा बस्ने, राख्नेलगायत प्रभावकारी ढङ्गबाट काम गरेको देखाउने निकायसँग पछिल्लो अवस्थानुसारको विशेष योजना बनाउन स्थानीयवासीको माग छ ।
सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा भने स्वाब सङ्कलन र परीक्षणलाई आगामी दिनमा तीव्रता दिइने बताउँछन् ।
हाल कोरोना संक्रमणमुक्त रहेको सोलुखुम्बुमा रेड जोनबाट आएका नागरिक खुला हिँड्डुल गर्न थालेपछि संक्रमणको जोखिम बढेको सल्लेरीका विवेककुमार दासको भनाइ छ ।
यस विषम परिस्थितिमा समेत स्थानीय तहले ठोस कदम चाल्न नसकेको उनको गुनासो छ । यही अवस्था रहिरहने हो भने सुरुवाती चरणमा कोरोना रोकथाम तथा नियन्त्रणमा गरिएको करोडौँ खर्च बालुवामा पानी हालेको जस्तै हुने आङ्पेम्बा शेर्पा बताउँछन् ।




