चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको वृद्धाश्रमका लागि रु एक लाख सहयोग प्राप्त भएको छ ।
इच्छाकामना–४ कुरिनटारका हरिबहादुर थापा र उनकी धर्मपत्नी तुलसा थापाले शनिबार मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवाललाई चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा थापाले वृद्धाश्रम तथा सामाजिक कार्यका लागि निर्माण भइरहेको भवनका लागि सहयोग गरिएको बताए । उनले मन्दिर समितिको कामको प्रशंसा गर्दै आगामी दिनमा आफूले सक्ने जुनसुकै सहयोगलाई निरन्तरता दिने बताए । उनले उक्त भवन निर्माणका लागि आ–आफ्नो तर्फबाट सकेको जति सहयोग गर्न पनि आग्रह गरेका छन् ।
मन्दिर समितिका अध्यक्ष सिलवालले वृद्धाश्रम भवन निर्माणका लागि सहयोग गरेकामा धन्यवाद दिए । उनले विगतका दिनहरुमा पनि थापाले विभिन्न सहयोग गर्दै आइरहेको बताए । यो भवन निर्माणका लागि केही रकम गाउँपालिकाबाट पनि प्राप्त भएको बताए । रु एक करोड लागत अनुमान गरिएको वृद्धाश्रामसहित भक्तजनका लागि निर्माण गरिरहेको उक्त भवनका लागि अहिले भक्तजनले नै सहयोग गरिरहेको बताए ।
अध्यक्ष सिलवालका अनुसार केन्द्रीय राजधानी आवजातव गर्ने धार्मिक पर्यटकहरु यस मन्दिर परिसरमा बास बस्ने गर्छन् । त्यसकारण यहाँ धार्मिक पर्यटकका लागि भवन निर्माण आवश्यक रहेको उनको भनाइ छ । वृद्धाश्रमसँगै धार्मिक पर्यटकहरु बास बस्न सहज हुने भवन निर्माण हुने मन्दिर समितिले जनाएको छ ।




