देश

रुकुमपूर्वमा पहिराेले विद्युत् सेवा अवरुद्ध

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ ।वर्षासँगै आएको पहिरोले नहर भत्किएपछि त्रिवेणी काँक्रीखोला लघुजलविद्युत् आयोजनाको विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् सेवा अवरुद्ध भएसँगै भूमे–२ का नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । यही असोजको ७ गते वर्षासँगै झरेको पहिरोले नहरमा क्षति पुर्‍याएको थियो । त्यसै दिनदेखि उक्त विद्युत् आयोजनाको विद्युत् सेवा रोकिएपछि नागरिक समस्यामा परेका हुन् ।

पैतालीस किलोवाट क्षमताको उक्त विद्युत् आयोजना बन्द भएसँगै आधा दर्जनभन्दा बढी गाउँका ५०० घरधुरी अन्धकारमा बस्न बाध्य भएको विद्युत् आयोजना व्यवस्थापन समिति सचिव पृथीबहादुर बुढाले जानकारी दिए । उनका अनुसार अहिले गाउँपालिका केन्द्र खावाङसहित काँक्री, लावाङ, गावाङ, दवाङ, जङ्गाधारालगायतका ठाउँका मानिसहरु विद्युत् सेवाबाट बञ्चित हुनुपरेको छ ।

विद्युत् सेवा अवरुद्ध भएसँगै मोबाइल चार्ज गर्न, साँझ बिहान बत्ती बाल्न र अन्य विद्युतीय काम गर्न समस्या भएको स्थानीयवासीले बताएका छन् । समितिले भने वर्षा कम भएपछि मात्रै आयोजना मर्मतको काम गर्ने जनाएको छ । अहिले पनि निरन्तर पहिरो झरिरहेकाले तत्कालै नहर मर्मतको काम सम्भव नभएको व्यवस्थापन समितिका सचिव बुढाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *