कर्णाली प्रदेश

सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण   

कर्णाली ।सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए ।

कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका थिए । उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताउए । “अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “उच्च मनोबलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।”

अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उनको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए । करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उनले आफैँ क्वारेन्टिन र आइसोलेशनमा पुगेर कोरोनासम्बन्धी सचेतना र नागरिकको मनोबल बढाउन मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आएका थिए। उनले आइसोलेशनका सङ्क्रमितलाई योगाभ्याससमेत गराउथे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *