रोल्पा । रोल्पामा बञ्चरोको बिड प्रहारबाट बिहिबार एकाबिहानै एक जनाको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका– ३ इरिबाङ (बाघमारा) का ४४ वर्षिय रामचरण बादीले सोही स्थानका ४० वर्षिय मनबहादुर बादीलाई बञ्चरोको बिड प्रहार गरेर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरिक्षक शंकर खड्काका अनुसार बिहिबार राति करिव २ बजेतिर चिनी माग्ने बाहना बनाएर मानबहादुरको ढोका ढकढक्याउन आएका रामचरणले मानबहादुरले ढोकाखोल्ने बित्तिकै मनबहादुर माथि बञ्चरोको बिडले टाउकोमा हिर्काएका थिए । टाउकोमा गम्भीर चोट लागेपछि रक्ताम्य भएका बादीको केही समयपछि घटनास्थलमै मृत्यु भएको थियो ।
लामो समयसम्म संयुक्त रुपमा मादल बनाउने काम गरेका वादीहरु आपसी मनमुटावका कारण करिव एक वर्ष पहिलेदेखि भिन्नाभिन्नै रुपमा कामगर्न थालेको थिए । दुईजना बीच कसले राम्रो मादल बनाउने र कसले धेरै बिक्री गर्ने भन्ने विषयमा प्रतिस्पर्धा भइरहन्थ्यो । यसरी दिनप्रतिदिन मनमुटाव बढ्दै गएपछि हत्या भएको हुनसक्ने प्रवक्ता खड्काले बताएका छन ।
श्रीमानकाे घटनास्थलमै मृत्यु भएपछि मृतककी श्रीमतीले तत्काल प्रहरीलाई खवर गरेकी थिइन् । घटना भएको केही समयमै घटनास्थल पुगी हत्या गरेको अभियोगमा रामचरणलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रवक्ता खड्काले जानमारी दिए । उनका अनुसार हत्या अभियोगमा पक्राउ परेका बादीउपर कर्तब्य ज्यान सम्वन्धी मुद्धा दर्ता गरिने भएको छ । हत्याबाट मृत्यु भएका बादीको शव आजै पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा ल्याइएको छ । घटनाबारे बिस्तृत रुपमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक खड्काले जानकारी दिए ।




