काठमाडौँ । नेपाली काँग्रेसले रौतहट र मोरङमा दुई युवाहरूको शंकास्पद ढंगले आज भएको मृत्युको घटनाप्रति ध्यान आकृष्ट भएको जनाएको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षिय बिजयराम चमार परिवारका सदस्यले दिएको जानकारीअनुसार स्वस्थ र हट्टाकट्टा भएको तर आज अकस्मात वीरगञ्जको एक अस्पतालमा उनको निधन भएको खबरले परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक भएको उल्लेख गरेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेका छन ।
यस्तै मोरङको कारागारमा रहेका २६ वर्षका युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पुर्याए लगत्तै भएको मृत्युबारे शंकास्पद विवरणहरु बाहिर आएको उल्लेख गर्दै पार्टीले सो घटनाको पनि सत्यतथ्य अनुसन्धान मार्फत सार्वजनिक गर्न माग गरेको छ । प्रवक्ता शर्माले धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा गत जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद भएको बताएका छन । यसैगरी काँग्रेसले रौतहट माधवनारायण नगरपालिकाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषीलाई कानुनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लाग्न पनि सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।




