काठमाडौँ। अर्थमन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सदस्यमा नियुक्ति गरेका डा. उपेन्द्र कोइरालालाई आजै अध्यक्ष बनाउने बस्ने भनिएको सञ्चालक समितिको बैठक स्थगित भएको छ ।
आजको बैठकले उपेन्द्र कोइरालालाई सरकारको स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाउने एजेण्डा रहेको थियो । तर उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा रहेका कोइरालालाई नियुक्त गर्ने तयारीको व्यापक विरोध भएपछि आजको सञ्चालक समितिको बैठक नै स्थगित भएको सञ्चालक समितिले जनाएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपतिसमेत रहेका कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धक ,उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष लगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो । कोइरालालाई पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको भन्दै चर्को विरोध भइरहेको छ ।
सरकारले बैंकको सञ्चालक समितिका अध्यक्ष बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्य बनाएर उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने तयारी गरेको थियो ।




