काठमाडौं । पत्नी हत्याको कसुर ठहरिएका पूर्व डिआइजी रञ्जनप्रसाद कोइरालाको सजाय घटाउने गरी सर्वोच्च अदालतवाट भएको फैसला र सवारी ज्यान मुद्दामा थुनामा रहेका पृथ्वी मल्ललाई छाड्नेगरी भएको आदेशको पूर्व न्यायाधीशहरुले आपत्ति जनाएका छन ।
पूर्व न्यायाधीशहरूको संगठनद्वारा जारी विज्ञप्तिमा प्रधानन्यायाधीश र सर्वोच्चका केही न्यायाधीहरूको निष्ठामाथि प्रश्नसमेत उठाउँदै कोइरालाको मुद्दामा ढिला नगरी सुनुवाई गर्न पूर्व न्याधीश फोरमले सुझावसमेत दिएको छ । सर्वस्वसहित जन्मकैद भोगिरहेका रञ्जन कोइरालाको सजाय प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले ११ वर्ष घटाएपछि उनी थुनामुक्त भैसकेका छन् ।त्यसैगरी बुढानिलकण्ठमा फुटपाथमा हिंड्दै गरेकी एक महिलालाई गाडीले हानेर मारेका पृथ्वी मल्ललाई सपना मल्ल प्रधान र मनोजकुमार शर्माको संयुक्त इजालसले ५ लाख धरौटीमा छोड्न आदेश गरेको थियो । सर्वोच्चबाट भएका यी दुवै निर्णयको सामाजिक सञ्जालदेखि सडकसम्म विरोध भएको थियो ।
रञ्जन कोइरालाको फैसला पुनरावलोकनका लागि सर्वोच्चले अनुमति दिइसकेको छ ।‘अहिले न्यायपालिकाको समग्र नेतृत्व गर्ने प्रधानन्यायाधीश र सर्वोच्चका केही न्यायाधीशहरूको कार्यक्षमता र निष्ठाउपर नै प्रश्न उठेकोले’ फोरमका अध्यक्ष टोपबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको विश्वसनियता जोगाउन वैधानिक प्रक्रियाद्वारा समस्याको सम्बोधन गर्न जिम्मेवार संवैधानिक निकायले आफ्नो संवैधानिक कर्तव्य निर्वाहका लागि ध्यानाकर्षण गराएका छौं ।’ विवादमा उठाइएको कोइरालाको मुद्दामा पुनरावलोकनको अनुमति भैसकेकाले ढिलो नगरी सिघ्र सुनुवाई गर्न आग्रहसमेत गरेका छन् । राजनीतिक दलका नेता, कानुन व्यवसायी, संचार जगत एवं आम नेपाली जनताबाट तीव्र आलोचना, सडक प्रदर्शन भएतर्पm पूर्व न्यायाधीश फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालत र न्यायाधीशको मान सम्मान, मर्यादाको मूल्यांकन आधार भनेको अदालतप्रतिको जनआस्था हो । जनआस्था अभिवृद्धिले न्यायपालिकाको विश्वसनियता बढ्ने पूर्व न्यायाधीशहरूको धारणा छ । ‘तर, न्यायको उच्च आसनमा बस्ने व्यक्तिहरूका कारण न्यायका याचकले न्याय पाउन नसकेको अनुभूति गर्नुप¥यो भने त्यसबाट न्यायालयप्रतिको श्रद्धा र विश्वास मात्र घट्दैन । सम्पूर्ण न्यायकर्मीहरुको शिर निहुरिन्छ’ न्यायाधीशहरूको विज्ञप्तिमा उल्लेख छ ।
न्याय सम्पादनमा संलग्न न्यायाधीशमध्ये प्रधानन्यायाधीशको विशिष्ट स्थान र सम्मान रहने र प्रमुख व्यक्तिको कार्यक्षमता, संस्थाप्रतिको निष्ठा, इमान्दारिता, न्याय सम्पादन पृष्ठभूमिको आधारमा सिंगो न्यायपालिकाको मूल्यांकन हुने पूर्व न्यायाधीशहरूले विश्लेषण गरेका छन् । पीडित पक्षसमेतले आपत्ति गरेकाले कानुनी प्रक्रियाद्वारा यथासिघ्र समाधान गर्न अपेक्षा गरेको छ ।




