देश

 हेलम्बु गाउँपालिकाले उपलब्ध गरायाे किसानलाई अनुदानमा रासायनिक मल

सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकाले किसानलाई  अनुदानमा रासायनिक मल वितरण गर्न शुरू गरेको छ । गाउँपालिकाभित्रका सहकारी संस्थाहरुसँग समन्वय गरी किसानहरुलाइ कृषि सामग्री संस्थानकै  मुल्यमा कृषि मल उपलब्ध गराएकाे हाे । लकडाउनकाे समयमा गाउँपालिकाले सहुलियतमा मल उपलब्ध गराएपछि हेलम्वुबासी खुसी छन ।

 शुक्रबारदेखि हेलम्बु गाउँपालिकाका सातै वडाका किसानले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी आवश्यकतानुसार अनुदानको रासायनिक मल लिन सक्ने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । बर्खेबालीका लागि यही महिना र हिउँदे बालीका लागि कात्तिकको दोस्रो सातासम्म मल ढुवानीमा अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।

यसअघि कृषि उत्पादन बढाउन किसानलाई रासायनिक मल ढुवानीका लागि अनुदान दिने निर्णय भएअनुसार यो मल उपलब्ध गराउन लागेको हो । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार नेपाल सरकारको रासायनिक मल वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामग्री कम्पनी लिमिटेडले तोकेकै दररेटमा हेलम्बुका किसानले मौसमअनुसारको मल पाएका छन । स्थानीय सहकारीमार्फत युरियामल प्रतिबोरा रु ८५० र डिएपी मल प्रतिबोरा रु दुई हजार ३०० मा वडा वडामा वितरण गरिने शेर्पाले बताए ।

कृषि उत्पादनमा वृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले रासायनिक मलमा अनुदानको कार्यक्रम ल्याइएको शेर्पाको भनाइ छ । रासायनिक मलमा अनुदानको अलावा आगामी वर्षदेखि किसानलाई मल, बीउ आदि सहुलियत दरमा उपलब्ध गराउने सहकारीलाई गाउँपालिकाले बीउ पूँजीको समेत व्यवस्थापन गरिदिने उनले बताए ।

हेलम्बु गाउँपालिकाका बहुसंख्यक मानिस कृषि पेशामा अश्रित छन।हेलम्बु गाउँपालिकामा समथर बेसीदेखि हिमालीे भूभाग पर्दछ । धान, मकै, गहु, कोदो, आलु र स्याउँसमेत फल्ने भौगोलिक बनावट हेलम्बु गाउँपालिका भित्र समेटिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *