संखुवासभा। कोरोना भाइरस अर्थात कोभिड १९ भाइरसको संक्रमणका कारण सरकारले देशभर लकडाउन गरे लामो समय व्यतित भएपछि चैनपुर नगरपालिकाले अति विपन्न, गरिव, असक्त र दैनिक ज्यालादारी गर्ने श्रमिक मजदुरहरुलाई लक्षित गरेर आफ्नो नगरपालिका भित्रका ११ वटै वडाहरुमा राहत प्याकेज वितरण कार्य सम्पन्न गरेको छ ।
सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ११ वटै वडा भित्रका ६ सय १५ घर धुरीका मा अति विपन्न, गरिव, असक्त, असहायय र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने श्रमिक मजदुरहरुलाई लक्षित गरी खाद्यान्न राहत वितरण गरिएको राहत वितरण समितिका संयोजक एवं चैनपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष भरत खड्काले जानकारी दिए।
चैनपुर नगरपालिका भित्र रहेका ११ वटै वडाका ६ सय १५ घर परिवारलाई खाद्यान्न राहत वितरण स्वरुप २ जनासम्म परिवार सदस्य भएको परिवारलाई साढे १२ केजी चामल, १ केजी दाल, १ केजी नुन, १ लिटर तेल दिएको, त्यस्तै ५ जनासम्म सदस्य भएको परिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २ लिटर तेल दिएको र ५ भन्दा माथि १० जनासम्म परिवार सदस्य भएको परिवारलाई प्रतिपेट ५ केजी चामल थप गरेर बढीमा ५० केजीसम्म चामल सहित २ केजी नुन, २ लिटर तेल र २ केजी दाल उपलब्ध गराइएको खड्काले जानकारी दिए । खड्काका अनुसार आज वडा नं.५, ९ र १० मा आज खाद्यान्न राहत वितरण गरिएको छ भने वडा नं. १ मा समेत आज नै राहत वितरण गरिएको छ ।
चैनपुर नगरपालिकाले गरेको खाद्यान्न राहत वितरण कार्यको अनुगमन नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा चैनपुर नगरपालिकाका उपप्रमुख मुना श्रेष्ठले गरिन। राहत वितरण कार्य सम्पन्न गर्दै कार्यवाहक नगरप्रमुख श्रेष्ठले एकद्वार नीतिबाट राहत वितरण गरिएको र लकडाउन थप लम्बिए थप राहतका कार्यक्रम ल्याइने र कृषि पेशामा फर्कन समेत आग्रह गरिन ।
यसैगरी चैनपुर नगरपालिकाले कोरोना भाइरसको महामारी रोक्न खडा गरेको राहतकोषमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले ६ लाख ४६ हजार र १ नं. प्रदेश सरकारले १० लाख र चैनपुर नगरपालिकाको २५ लाख गरी ४१ लाख माथिको राहत कोष स्थापना गरिसकेको चैनपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख एवं. नगरउपप्रमुख मुना श्रेष्ठले जानकारी दिइन ।




