सङ्खुावासभा।नोवेल कोरोना भाइरस अर्थात कोभिड १९ भाइरसको संक्रमणका कारण सरकारले देशभर लकडाउन गरेको ३ साता पुगेसँगै विपन्न, गरिव, असक्त र दैनिक ज्यालादारी गर्ने श्रमिक मजदुरहरुलाई विहान बेलुका चुल्हो बाल्न संकट भएपछि विपन्न गरिव श्रमिकहरुले आवाज उठाउन थालेका छन् ।
सङ्खुवासभा जिल्ला भित्रका स्थानीय पालिकाहरुले विपन्न, गरिव, असक्त र दैनिक ज्यालादारी गर्ने श्रमिक मजदुरहरुलाई लक्षित गरी पहिलो चरणमा राहत प्याकेजका रुपमा खाद्यान्न सहितका सामग्री दिन स्थानीय सरकारका जनप्रतिनिधिहरुले शुरु गरेका छन् । श्रमिक मजदुरहरुलाई हातमुख जोड्न श्रम गर्ने ठाउँ नभएपछि समस्या भएको भन्दै स्थानीय पालिका एवं समाजसेवी व्यक्तिहरुले राहत कार्यक्रमलाई अगाडि बढाएका छन् । देश लकडाउन भएसँगै यसको प्रभाव हरेक नेपालीलाई पर्न गएको छ । सरकारले यतिखेर सर्वसाधारण जनतालाई देशभर लकडाउन गरेर नागरिकहरुलाई घरबाहिर ननिस्कन उर्दी लगाइरहेको छ, यसको प्रत्यक्ष मारमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक मजदुर¸ विपन्न गरिव¸ असहाय¸ असक्त नागरिकहरु परेका छन् । त्यसमा पनि आर्थिक अवस्था कमजोर भएकालाई झनै समस्या भएको छ । यतिखेर देशभरका स्थानीय सरकारहरुले देश भित्र लकडाउनका कारण काममा जान नसकेका न्यून आय भएका आफ्ना नागरिकलाई स्थानीय तहका सरकारले राहत वितरण गर्न शुरु गरिरहेका वेला सङ्खुवासभाको पाँचखपन नगरपालिकाले आफ्नो नगरको ९ वटै वडा भित्रका लक्षित घरपरिवारको पहिचान गरी ६ सय ६१ घर परिवारलाई खाद्यान्नसहितका राहत सामग्री उपलब्ध गराएको पाँचखपन नगरपालिकाका नगरप्रमुख विपिनकुमार राईले जानकारी दिए । नगरप्रमुख राईका अनुसार प्रति घरपरिवार ३ जनासम्म सदस्य भएमा १५ केजी चामल, १ केजी दाल सहित नुन, तेल, सावुन उपलब्ध गराइएको र त्यो भन्दा बढि परिवार भएमा बढीमा ३० केजी चामल सहित अन्य राहत सामग्री उपलब्ध गराइसकिएको जानकारी दिए ।
यसैगरी सभापोखरी गाउँपालिकाले पनि असहाय, मजदुर, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई लक्षित गरी कुपन मार्फत स्थानीय पसलबाट पालिकाका ६ वटै वडा भित्र ५ सय ८७ घर परिवारलाई सदस्य संख्याको आधारमा बढीमा ३० केजी चामल, २ केजी दाल, २ केजी चिनी, २ केजी नुन सहितका खाद्यान्न सामग्री वितरण गरिएको सभापोखरी गाउँपालिकाका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए। यसैगरी आजै जिल्लाका २ वटा नगरपालिकाको कार्यपालिकाको बैठकले भोलिबाट असहाय, मजदुर, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई लक्षित गरी मादी नगरपालिकाले नगरको ७ सय ८० घरपरिवारलाई पहिलो चरणको राहत खाद्यान्न सामग्री उपलब्ध गराउने भएको छ । मादी नगरप्रमुख विदुर सुब्बाका अनुसार नेपाल सरकारले निर्धारण गरे वमोजिम परिवार सदस्य संख्याको आधारमा बढीमा ३० केजी चामल, २ केजी दाल, २ केजी चिनी, २ केजी नुन, २ लिटर तेल दिने गरी स्थानीय वडाका पसलहरुबाट दिने गरी व्यवस्था मिलाइएको मादी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर मिश्रले जानकारी दिए । यसैगरी धर्मदेवी नगरपालिकाले पनि आजै आफ्नो नगरका ९ वटै वडा भित्रका असहाय, मजदुर, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई लक्षित गरी १३ सय घर परिवारलाई खाद्यान्न राहत सामग्री तत्काल वडा वडामा गएर सर्वदलीय रुपमा दिने व्यवस्था मिलाइएको नगरप्रमुख रमेशकुमार जिमीले जानकारी दिए । नगरप्रमुख जिमीका अनुसार प्रतिपेट ५ केजीका दरले चामल, नुन, तेल, दाल, चिनी लगायतका खाद्य सामग्री सहित हातधुने सावुन दिने व्यवस्था मिलाइएको जानकारी दिए । नगरप्रमुख जिमीका अनुसार एसईई परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरी जिल्लाका नयाँ अभियान एफ्. एम्. र अरुण एफ्.एम्.बाट अंग्रेजी, गणित र विज्ञान सहितका विषयहरुमा रेडियो कक्षा संचालन गर्ने व्यवस्था मिलाइएको समेत जानकारी दिए।
यसैगरी केही दिन अघिबाट खाँदबारी नगरपालिकाले आफ्नो नगरको ११ वटै वडा भित्र बसोबास गर्दै आउनु भएका विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । परिवार संङ्ख्याको आधारमा चामल¸ नुन¸ तेल लगायत खाद्य तथा साबुन¸ मास्क सहितका सामग्री वितरण गरिएको खाँदवारी नगरपालिकाका नगरप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए । यसैगरी जिल्लाको सिलिचोङ गाउँपालिका¸ चिचिला गाउँपालिका, भोटखोला गाउँपालिकाले समेत पहिलो चरणको राहत सामग्री असहाय, मजदुर, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई पहिचान गरी खाद्यान्न राहत वितरण गरेको छ ।
यसैगरी चैनपुर नगरपालिकाले पनि आफ्नो नगरका ११ वटै वडा भित्र रहेका गरिव विपन्न¸ श्रमिक मजदुरलाई लक्षित गरी लगत निकाल्ने कामका लागि सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई कामको जिम्मेवारी कार्यपालिकाको बैठकले दिएको र तत्काल राहत प्याकेज कार्यक्रम अगाडि बढाउने प्रयोजनका लागि चैनपुर नगरपालिकाले राहतकोष समेत खडा गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले ६ लाख ४६ हजारको कोष स्थापना गरिसकेको र तत्काल कार्यपालिकाको बैठक बसी राहत प्याकेज कार्यक्रमलाई जतिसक्दो चाँडो अगाडि बढाइने चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले जानकारी दिए ।




