अर्थ

वैशाखमा अधिकांश बैंकको घट्यो ब्याजदर, कृषि विकास बैंकले बढायो

काठमाडौं । वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार अधिकांश बैंकले निक्षेपमा दिँदै आएको ब्याजदर घटाएका छन् भने केही बैंकले यथावत राखेका छन्। यसपटक भने कृषि विकास बैंकले विपरीत धार समाउँदै ब्याजदरमा सामान्य वृद्धि गरेको छ।

सार्वजनिक विवरणअनुसार १० वटा बैंकले अघिल्लो महिनाकै दर कायम राखेका छन्। स्थिर दर राख्ने बैंकहरूमा प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन्।

त्यसैगरी, ९ वटा बैंकले ब्याजदर घटाएका छन्। घटाउने बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक समावेश छन्। यीमध्ये अधिकांश बैंकले व्यक्तिगत निक्षेपतर्फ ब्याजदर घटाएका छन् भने केहीले संस्थागत निक्षेपमा समेत कटौती गरेका छन्।

सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्। हिमालयन बैंकले क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले कटौती गर्दा अन्य बैंकहरूले सानो परिमाणमा व्यक्तिगत निक्षेपतर्फ दर घटाएका छन्। नबिल बैंकले भने संस्थागत निक्षेपतर्फ मात्रै ०.५४ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। यसैबीच, कृषि विकास बैंकले साधारण बचतदेखि संस्थागत मुद्दती निक्षेपसम्म ०.०३ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ, जुन यस महिनामा ब्याजदर वृद्धि गर्ने एकमात्र बैंक बनेको छ।

bank

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *