काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै जाँदा नेपाल आयल निगम गम्भीर वित्तीय संकटमा परेको छ। निगमले दैनिक करिब ९३ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको भन्दै इन्धनको खपत नियन्त्रण नगरे आपूर्ति शृंखला नै प्रभावित हुन सक्ने चेतावनी दिएको छ। निगमका अनुसार पश्चिम एसियामा जारी द्वन्द्व र कच्चा तेलको मूल्य वृद्धिका कारण पछिल्ला दिनमा वित्तीय दायित्व अत्यधिक बढेको हो। ३० मार्चदेखि ८ अप्रिल २०२६ सम्मको अवधिको मूल्य विश्लेषणअनुसार पाक्षिक घाटा करिब १४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
सरकारले हालै भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि तीव्र भएकाले त्यसको प्रभाव न्यून देखिएको निगमले जनाएको छ। बढ्दो घाटालाई मध्यनजर गर्दै निगमले चैत २६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य समायोजन गरेको छ। जसअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा २५ रुपैयाँ, एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ तथा हवाई इन्धनमा ६ रुपैयाँ वृद्धि गरिएको हो। मूल्य समायोजनपछि पनि निगमले अझै ठूलो घाटा कायम रहने प्रक्षेपण गरेको छ। निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई समयमै भुक्तानी गर्न थप ठूलो रकम आवश्यक रहेको भन्दै आगामी किस्ता व्यवस्थापन चुनौतीपूर्ण बनेको जनाएको छ। हालसम्म २६ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिसकेको निगमले आगामी २३ अप्रिलका लागि १६ अर्ब ३७ करोड रुपैयाँ जुटाउनुपर्ने अवस्था रहेको छ।
संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै निगमले इन्धन बचतमा जोड दिएको छ। सवारीसाधनको अनावश्यक प्रयोग घटाउन र इन्धन मितव्ययी रूपमा प्रयोग गर्न उपभोक्तासँग आग्रह गर्दै निगमले दैनिक खपत घटाउन सके ठूलो आर्थिक बचत सम्भव हुने दाबी गरेको छ। निगमका अनुसार यदि दुईपांग्रे र चारपांग्रे सवारी प्रयोगकर्ताले दैनिक एक–एक लिटर इन्धन बचत गरे राज्यले दैनिक करिब २६ करोड रुपैयाँ जोगाउन सक्नेछ। यसलाई निरन्तरता दिए १५ दिनमा करिब ३९० करोड रुपैयाँसम्म बचत हुन सक्ने निगमको अनुमान छ।




