अर्थ

भैँसीपालनमा जुट्दै लुङ्गिनका किसान

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेतीपातीमा सीमित रहेका यहाँका किसान अहिले आयआर्जन वृद्धि र आत्मनिर्भर बन्ने लक्ष्यका साथ पशुपालनतर्फ उन्मुख भएका हुन् ।

हतुवागढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानलाई लक्षित गरी विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेषगरी गाई, भैँसीपालनलाई प्रोत्साहन गर्न गोठ सुधार, उन्नत जातका भैँसी वितरण गरिएको हो । किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले विगत तीन वर्ष अघिबाट स्थानीयलाई भैँसी तथा उन्नत गाई वितरण कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । किसानलाई दूधको माध्यमबाट आयआर्जनमा जोड्ने लक्ष्यका साथ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको भैँसी वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

हालसम्म गाउँपालिकाभित्रका किसानलाई २७ उन्नत जातको भैँसी विरतण गरिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो । भैँसी वितरणसँगै किसानलाई प्राविधिक तालिमसमेत उपलब्ध गराउने गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको भैँसी वितरण कार्यक्रम किसानका लागि उपयुक्त रहेको हतुवागढी–२ लुङ्गिनका कृषक हेमराज कार्कीले बताउनुभयो । गाउँपालिकाले भैँसीसँगै गोठ सुधारको कार्यक्रमसमेत सञ्चालन गरेकोले थप सहजता भएको उहाँको भनाइ छ ।

विगतमा घरायसी प्रयोजनका लागि सीमित भैँसीपालन अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ । “भैँसी वितरण कार्यक्रमले हामीलाई प्रत्यक्ष लाभ पुगेको छ”, कार्कीले भन्नुभयो, “दूध तथा दूग्धजन्य परिकार बिक्री गरेर आयआर्जन गर्ने अवस्था बनेको छ ।”

यहाँ उत्पादित दूध तथा दुग्धजन्य पदार्थ स्थानीय बजारका साथै नजिकका व्यापारिक केन्द्रहरूमा बिक्री हुने स्थानीयवासी धनबहादुर थापाले बताउनुभयो । केही किसानले दही, घ्यूउ, परिकार बनाउने गरेका छन् । लुङ्गिन क्षेत्र पशुपालनको लागि उपयुक्त रहेकाले पशुपालनमा जोड दिएको वडाध्यक्ष विचारी थापाले बताउनुभयो । गाउँपालिकाबाट वितरण भएका २७ भैँसीमध्ये २२ लुङ्गिन क्षेत्रका किसानले पालन गरिरहेका छन् ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले किसानलाई पशुपालनका माध्यमबाट आत्मनिर्भर बनाउने लक्ष्यसहित गाई, भैँसीपालनलगायत कृषि क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “स्थानीय उत्पादन बढाउँदै किसानको आयस्तर उकास्ने उद्देश्यले अनुदानमा भैंसी वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्छ ।”

गाउँपालिकाले आगामी दिनमा पशुपालनसँगै दुग्ध सङ्कलन, प्रशोधन र बजार व्यवस्थापनलाई थप व्यवस्थित बनाउने योजना अघि बढाउने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *