अर्थ

आलुको बीउ ‘ग्रेडिङ’ गर्दै मौर्य

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाका किसान जयपाल मौर्य अहिले आलुको बीउ ‘ग्रेडिङ’मा व्यस्त छन् ।

गत वर्ष मात्रै जिल्लाबाट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका ४३ वर्षीय किसान मौर्यले एक सय एक कट्ठा जमिनमा लगाइएको आलुको बीउ ग्रेडिङ भइरहेको जानकारी दिए ।

बीस वर्षदेखि कृषिमा संलग्न उनले अनुमानित आठ सय क्विन्टल बीउ उत्पादन गरेर स्थानीय सरकारले जिल्लामा निर्माण गरेका ‘कोल्ड स्टोर’मा संरक्षण गरेको बताउछन् । ‘आलुको बीउ ग्रेडिङ जारी रहेको छ, एक सातादेखि भइरहेको यो काम शुक्रबार सकिने छ’, मौर्यले भने ।

उन्नत प्रकारको ‘कार्डिनल’ जातको सो आलुको बीउ विगतका वर्षमा थोरै मात्रामा उत्पादन हुने गरेको उल्लेख गर्दै उनले यस वर्ष धेरै जमिनमा लगाइएको कारण पनि उत्पादन बढेको बताए ।

त्यसका लागि यस वर्ष करिब पाँच लाख लगानी भएको जानकारी दिँदै मौर्यले आलु रोप्ने सिजनमा ‘कोल्ड स्टोर’बाट ल्याएर ३५ देखि ५५ सम्म प्रतिकेजीमा बिक्री हुने गरेको उल्लेख गरे । यसबाट करिब १२ लाख बराबरको कारोबार हुने विश्वास व्यक्त गरे ।

कात्तिक मसान्त वा मङ्सिर महिनामा लगाएको आलुको बीउ उत्पादन गर्न ९० देखि १२० दिनसम्म लाग्ने गरेको किसानको अनुभव छ ।

कोल्ड स्टोरमा बीउ राख्दा प्रतिकेजी रु चार शुल्क तिर्नुपर्छ । कोल्ड स्टोर डुडुवाबाहेक कोहलपुरमा पनि रहेको छ ।

कृषि ज्ञान केन्द्र, नेपालगन्जले प्रदान गरेको आलुको उन्नत जातको पीबीउस दानाबाट आफूले आलुको बीउको उत्पादन गरेको मौर्यले बताए ।

कृषि ज्ञान केन्द्र, बाँके, नेपालगन्जका प्रमुख विनोद घिमिरेले आलुको पीबीउस दानालाई दोस्रो र तेस्रो पुस्ताका रूपमा लैजान सकिने उल्लेख गर्दै आलु बीउको क्षेत्र विस्तारमा जोड दिइएको बताए ।

ज्ञान केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले आलुको बीउ उत्पादनका लागि किसानले अनिवार्य तालिम पनि लिनुपर्ने अवस्था आएको बताउनुभयो। अन्यथा आलुको बीउ उत्पादन गर्न किसानलाई कठिनाइ हुने उनको भनाइ छ ।

अधिकृत पाठकले सिन्धुपाल्चोकबाट ल्याइएको पीबीउस दानाबाट बाँकेमा आलु बीउ उत्पादन राम्रो भएको जानकारी दिए । किसान मौर्यलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *