अर्थ

ग्लोबल आइएमई बैंकले एआई/एमएल ह्याकाथनको दोस्रो संस्करण गर्ने, आवेदन खुला

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले एआई/एमएल ह्याकाथनको दोस्रो संस्करण–२०२६ आयोजना गर्ने भएको छ।

बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई तथा मेसिन लर्निङ (एमएल) आधारित ह्याकाथनको पहिलो संस्करण आयोजना गरेको थियो। पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागितापछि दोस्रो संस्करण ल्याउन लागेको बैंकले जनाएको छ।

बैंकका अनुसार आगामी मे २९ देखि ३१, २०२६ सम्म आयोजना हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ। प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरूले मे ४, २०२६ भित्र बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

यस ह्याकाथनले सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकास, डिजिटल बैंकिङमा देखिने चुनौतीको समाधान तथा प्रविधिमैत्री वित्तीय सेवा प्रवर्द्धनमा सहयोग पुग्ने बैंकको विश्वास छ।

प्रतियोगितामा सहभागी टोलीहरूले अटोनोमस क्रेडिट एन्ड लेन्डिङ अर्केस्ट्रेटर, एजेन्टिक फ्रड डिटेक्सन, मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, एआई–ड्रिभन इन्ट्रुजन डिटेक्सन सिस्टम (आईडीएस) लगायत बैंकले तोकेका विषयमा केन्द्रित रहेर आफ्ना अवधारणा प्रस्तुत गर्नुपर्नेछ।

उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसरसमेत प्रदान गरिने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित बैंक हो। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’ लगायत प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको बैंकको ३५२ शाखा, ३७९ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी एक हजारभन्दा बढी सेवा केन्द्र रहेका छन्।

बैंकले नेपालभित्र बैंकिङ सेवासँगै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *