काठमाडौं । जिल्ला सहकारी संघ सिन्धुपालचोकको आयोजनामा सिन्धुपालचोकमा पहिलो पटक जिल्ला स्तरीय सहकारी सम्मेलन हुने भएको छ। ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर ‘प्रथम जिल्ला सहकारी सम्मेलन २०८२’ आयोजना गर्न लागिएको हो। संघका अध्यक्ष दिपक विक्रम थापाका अनुसार चैत २० गते सुकुटेस्थित सिन्धु बीच रिसोर्टमा आयोजना हुने सम्मेलनमा जिल्लाभरका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरूको सहभागिता रहनेछ। सम्मेलनमा सहभागी हुन चैत १८ गतेसम्म नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ भने सहभागिता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।
सम्मेलनमा जिल्लाका सहकारी संस्थाहरूको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे सामूहिक छलफल गर्दै आगामी कार्यदिशा तय गरिने जनाइएको छ। साथै, १२ वटै स्थानीय तहका सहकारी शाखा प्रमुखहरूलाई समेत सहभागी गराई सहकारी प्रवर्द्धनमा उनीहरूको भूमिकाबारे अनुभव आदानप्रदान गरिनेछ। जिल्लास्तरका विषयगत संघ, प्रारम्भिक सहकारी र स्थानीय तहबीच एउटै मञ्चमा छलफल गर्दै साझा धारणा विकास गर्ने उद्देश्य सम्मेलनले लिएको छ। यसका अतिरिक्त, सहकारी ऐन–नियम, वित्तीय पारदर्शिता, सुशासन र सुधारका उपायहरूबारे पनि विशेष बहस हुने कार्यक्रम छ।
सम्मेलनमा सहकारीमार्फत रोजगारी सिर्जना, उद्यमशीलता विकास र गरिबी न्यूनीकरणमा योगदान पुर्याउने रणनीतिबारे छलफल गरिनेछ। ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने राष्ट्रिय सहकारी महासंघको मूल नारालाई समेत सम्मेलनले आत्मसात गर्नेछ। संघका अनुसार विभिन्न विषयगत संघका प्रतिनिधिहरूको सहभागितासँगै असल अभ्यास आदानप्रदान, सुझाव संकलन र समन्वयात्मक ढंगले सहकारी अभियान अघि बढाउने योजना बनाइने अपेक्षा गरिएको छ।




