अर्थ

अर्थ मन्त्रालयको प्रशासनिक हेरफेरः ३० उपसचिव एकैपटक सरुवा

काठमाडौं । अर्थ मन्त्रालयले प्रशासनिक पुनर्संरचना अन्तर्गत ३० जना उपसचिवलाई एकैपटक सरुवा गरेको छ। मन्त्रालयका अनुसार सरुवामा परेका अधिकृतहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा अन्य मातहतका निकायहरूमा जिम्मेवारी परिवर्तन गरिएको हो।

सरुवाको सूचीमा केही उपसचिवलाई प्रदेश सरकारअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा समेत पठाइएको छ। यसलाई संघीय र प्रदेश तहबीच प्रशासनिक समन्वय सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार यो निर्णय कामको प्रभावकारिता, राजस्व प्रशासनको चुस्तता र निकायगत पुनर्सन्तुलनलाई ध्यानमा राखेर गरिएको हो। विशेषगरी राजस्व संकलनसँग प्रत्यक्ष जोडिएका निकायमा अनुभवी जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको बताइएको छ।

यो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरिएको पहिलो ठूलो कर्मचारी सरुवा हो। त्यसैले यसलाई मन्त्रालयको कार्यशैली, प्राथमिकता र प्रशासनिक सुधारको प्रारम्भिक संकेतका रूपमा पनि विश्लेषण गरिएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *