धरान (सुनसरी)। सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ ।
जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ ।
सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर÷तोरी लगाइने गरेको उहाँले बताउनुभयो ।
जिल्लामा हाल चार हजार ६०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ । गत वर्ष चार हजार छ हेक्टरमा गरिएको चैते धानखेतीबाट २३ हजार १६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “चैते धानमा बर्खे धानको तुलनामा रोग तथा कीरा कम लाग्ने र उत्पादन पनि राम्रो हुने भएकाले किसानको आकर्षण बढ्दो छ । जिल्लामा विशेषगरी चैते–१, चैते–५ र हर्दिनाथ–३ जातको धान बढी रोप्ने गरिएको छ । चैते धानको उत्पादन राम्रो हुने र बजार मूल्यसमेत अनुकूल रहने भएकाले किसानले चैते धानखेती गर्न रुचाउने गरेका छन् ।”
सुनसरीको बराहक्षेत्र नगरपालिका–५, ६ र ७, रामधुनी नगरपालिका–६, ७ र ९, भोक्राहा तथा इटहरीलगायत क्षेत्रमा चैते धान रोपाइँ बढी हुने गरेको छ । नहर तथा पैनी सिँचाइ सुविधा पुगेका र तरकारीखेती कम हुने क्षेत्रमा यस्तो धानखेती बढी हुने गरेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
रामधुनी–७ का किसान डम्बर माझीले चैत महिनाभित्र रोपाइँ सके राम्रो उत्पादन हुने भएकाले हाल आफूहरू धान रोपाइँमा व्यस्त रहेको बताउनुभयो । “चैत २० देखि २२ गतेभित्र रोपिसक्नुपर्छ, चैत महिनापछि रोपाइँ हुँदा उत्पादन कम हुन्छ”, उहाँले भन्नुभयो ।




