अर्थ

पौभा कलासहित ग्लोबल आइएमई बैंकको २०८३ क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पौभा कलाको दिव्य रङ्ग र दर्शन समेटिएको नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन्।

क्यालेन्डरमा नेवार समुदायसँग गहिरो सम्बन्ध रहेको पौभा कलाका दुर्लभ चित्रहरू समावेश गरिएको बैंकले जनाएको छ। थाङ्कासँग मिल्दोजुल्दो देखिए पनि पौभा कला आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराइ बोकेको परम्परागत चित्रकला हो।

बैंकले विगत केही वर्षदेखि नेपाली कला, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले क्यालेन्डरमार्फत मौलिक चित्रहरू समावेश गर्दै आएको छ। यसअघि मिथिला, मण्डला, प्राचीन कलाकृति तथा पुराना नेपाली जीवनशैली झल्काउने तस्वीरहरू समेटिएका क्यालेन्डर प्रकाशन गरिएका थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले देश तथा विदेशबाट रेमिट्यान्स सेवा सहित विभिन्न आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *