अर्थ

सेयर बजारमा हल्का सुधार, कारोबार रकम भने उच्चस्तरमा

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०१ अङ्कले उकालो लाग्दै २,९३६.५६ विन्दुमा पुगेको हो। आज बजारमा ३४२ कम्पनीका ३ करोड ८० लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल १५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार संख्या र रकम दुवैका आधारमा बजार सक्रिय देखिएको विश्लेषण गरिएको छ।

आजको कारोबारमा १०२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनी घटेका छन् भने ८ कम्पनी स्थिर रहेका छन्। केही कम्पनीमा सकारात्मक सर्किटसमेत लागेको छ, जसले बजारमा आंशिक उत्साह देखिएको संकेत गर्दछ। कारोबार रकमका आधारमा कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो। बैंकको मात्रै ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्ट, नेशनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चरङादी ग्रुप पावर पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।

उपसमूहगत रूपमा हेर्दा उत्पादन तथा प्रशोधन, जलविद्युत, लगानी र म्युचुअल फण्ड समूहमा वृद्धि देखिएको छ। उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी सुधार देखिएको हो। यता होटल तथा पर्यटन, ट्रेडिङ, विकास बैंक, जीवन बीमा लगायतका समूहमा गिरावट आएको छ। बैंकिङ समूहमा समेत सामान्य ओरालो लागेको छ, जसले समग्र बजारलाई सीमित दायरामै राखेको देखिन्छ। समग्रमा, परिसूचकमा सामान्य वृद्धि भए पनि उच्च कारोबार रकमले बजारमा लगानीकर्ताको सक्रियता भने कायम रहेको संकेत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *