कैलाली। यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।
विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख राजस्व सङ्कलन भएको छ ।
त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट रु नौ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत) बाट रु ८८ लाख २६ हजार राजस्व सङ्कलन भएको छ ।
यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयको बेरुजु रकम भने शून्य रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।




