काठमाडौं । विराटनगर–कञ्चनबारीस्थित सिटिजन्स बैंकमा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ। बैंकका आफ्नै कर्मचारीको मिलेमतोमा यस्तो ठूलो रकम हिनामिना भएको पुष्टि भएपछि प्रशासनले प्रहरीमा उजुरी दिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविद कट्टुवाल का अनुसार, उजुरी अनुसार घटना सम्बन्धमा छानबिन सुरु गरिएको छ। “अनुसन्धान भइरहेकाले अहिले पूर्ण विवरण दिन सकिँदैन,” उनले बताए।
बैंक स्रोतका अनुसार, कञ्चनबारी शाखामा कार्यरत ५ जना कर्मचारीको संलग्नता देखिएपछि उनीहरू सबैलाई निलम्बन गरिएको छ। आन्तरिक लेखापरीक्षणले ठूलो रकम हिनामिनाको संकेत देखाएपछि बैंक प्रशासनले दोषी कर्मचारीलाई तत्काल कारबाहीको कदम चालेको हो।
स्रोतका अनुसार, घोटालामा संलग्न कर्मचारीहरूले फिक्स डिपोजिटलाई धितो देखाएर नक्कली कर्जा फाइल तयार पार्दै रकम निकालेको पाइएको छ। बैंकले उक्त रकमको असुल र दोषीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा आधिकारिक जाहेरी दिएको छ।
यस घटनाले बैंक सुरक्षा प्रणाली र आन्तरिक लेखापरीक्षण प्रक्रियामा सुधारको आवश्यकता रहेको प्रश्न उठाएको छ।




