झापा। पछिल्ला तीन दिनदेखि चलिरहेको हुरीका कारण झापामा केराखेतीमा ठूलो क्षति पुगेको छ। झापा गाउँपालिका–७ का किसान चन्द्र बस्नेतले लगाएको केराखेती हुरीले पूर्ण रूपमा नष्ट गरेको हो।
कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार बस्नेतले दुई बिघा दुई कट्ठा जमिनमा लगाएको केरा हुरीका कारण भाँचिएर नष्ट भएको छ।
“भाँचिएका सबै केराघरी लागेका रहेछन्,” आचार्यले भन्नुभयो, “पाक्न लागेको केरा नष्ट हुँदा किसानलाई ठूलो आर्थिक क्षति भएको छ।”
उहाँका अनुसार बस्नेतले ३० बिघा जमिनमा केराखेती गरेका थिए। तीमध्ये घरी लागेका दुई बिघा जमिनका करिब तीन हजार २०० बोट केरा हुरीले सखाप पारेको छ। यसबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
किसान बस्नेतले प्राकृतिक विपत्तिले आफूलाई पटक–पटक मारमा पार्दै आएको गुनासो गर्नुभयो। यसअघि गत असोज १८ र १९ गते परेको अविरल वर्षा र बाढीका कारण पनि उहाँको करिब एक करोड रुपैयाँ बराबरको केराखेती नष्ट भएको थियो।
“बाढीले उजाडेको ठाउँमा बल्लतल्ल नयाँ बिरुवा हुर्काउँदै थिएँ, फेरि हुरीले सखाप पारिदियो,” बस्नेतले भन्नुभयो, “अघिल्लो पटकको क्षतिको राहत अझै पाएको छैन, फेरि अर्को क्षति भोग्नुपर्यो। प्रकृतिको विपत्ति पनि मलाई मात्र आउने जस्तो लाग्न थालेको छ।”




