काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालका वाणिज्य बैंकहरूले कुल ३८ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्म २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका हुन्। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने केही कम हो। गत वर्ष यही अवधिमा बैंकहरूले ३८ अर्ब ८ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए, जसको तुलनामा यस वर्षको नाफा ५.४० प्रतिशतले घटेको देखिन्छ।
समग्र नाफा केही घटे पनि बैंकहरूको प्रदर्शन मिश्रित देखिएको छ। २० वाणिज्य बैंकमध्ये १० बैंकको नाफा बढेको छ भने बाँकी १० बैंकको नाफा घटेको छ। नाफा आर्जनको हिसाबले नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। नबिलले सात महिनामा ५ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाउँदै शीर्ष स्थान कायम गरेको हो। त्यसपछि ग्लोबल आईएमई बैंकले ४ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थान ओगटेको छ।
त्यसैगरी, कुमारी बैंकले ३ अर्ब १७ करोड रुपैयाँ नाफा कमाउँदै उल्लेखनीय प्रदर्शन गरेको छ भने एभरेष्ट बैंकले २ अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। प्राइम बैंकले २ अर्ब ३९ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब १९ करोड र एनएमबि बैंकले २ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएका छन्। एक अर्बदेखि दुई अर्बको बीचमा नाफा कमाउने बैंकहरूको सूचीमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंक रहेका छन्।
त्यसैगरी, एक अर्बभन्दा कम नाफा कमाउने बैंकहरूमा कृषि विकास बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया बैंक रहेका छन्। सबैभन्दा कम नाफा भने लक्ष्मी बैंकले कमाएको छ, जसले सात महिनामा जम्मा २४ करोड २७ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ। नाफा वृद्धिदरका आधारमा कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ। कुमारी बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३२९.८७ प्रतिशतले बढेको छ। सिद्धार्थ बैंकको नाफा ९९.५७ प्रतिशतले बढेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ५२.४६ प्रतिशत नाफा वृद्धि गरेको छ।
यस्तै, नबिल बैंकको नाफा ३.२१ प्रतिशत, माछापुच्छ्रे बैंकको २८.६३ प्रतिशत, सानिमा बैंकको २६.२८ प्रतिशत र नेपाल एसबीआई बैंकको १०.६१ प्रतिशतले बढेको छ। अर्कोतर्फ केही बैंकहरूको नाफामा उल्लेख्य गिरावट आएको छ। सबैभन्दा ठूलो गिरावट लक्ष्मी बैंकमा देखिएको छ, जसको नाफा ८४.७३ प्रतिशतले घटेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३६.१८ प्रतिशत र सिटिजन्स बैंकको ३६.०९ प्रतिशतले घटेको छ। यसैगरी, प्रभु बैंक, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको नाफामा पनि गिरावट देखिएको छ। समग्रमा बैंकिङ क्षेत्रको नाफा स्थिर देखिए पनि बैंकहरूको कार्यसम्पादनमा भने स्पष्ट उतारचढाव देखिएको तथ्यांकले देखाएको छ।




