इलाम।गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको छ । हरियो चियाबारी, चिसो मौसम र अन्तुबाट देखिने झुल्के घाम हेरेर पर्यटक रमाउँछन् ।
यहाँका मनोरम दृश्यसँग मोहित हुन्छन् र फर्किन्छन् । यसरी फर्किनेहरू सम्झना मात्र बोकेर फर्किँदैनन्, साथमा केही न केही कोसेली बोक्छन् । कोसेलीका रूपमा ललिपप, छुर्पी, बम्बइसन, चिया, अकबरेलगायत स्थानीय उत्पादन लिएर मात्र पर्यटकहरू फर्किने गरेका छन् ।
अन्तु घुमेर फर्कँदै गरेका पर्यटक समूह सूर्योदय–१० स्थित फिक्कल बजारको पसलअगाडि उभिन्छन्, आफूलाई मन पर्ने मिठाईलगायत कोसेली छान्छन् र लिएर जान्छन् । यस्तै अवस्थामा भेटिएका चितवनका रोशन सापकोटाले भने, ‘साथीहरूले इलामबाट रित्तो नफर्किनु है भनेका छन् । धेरैलाई यहाँको ललिपप मनपर्दो रहेछ । साथीहरूको मागअनुसार सामान किनिरहेको छ । जति हेर्यो, त्यत्ति किनौँ किनौँ जस्तो लागिरहेको छ ।’
फिक्कल बजारमा लहरै सजिएका पसलहरूमा छुर्पी, घ्यू, चिया, अकबरे खुर्सानीसँगै ललिपप र बम्बइसन जस्ता उत्पादन बिक्रीका लागि राखिएका छन् । कतिपय पसलमा त पर्यटकहरूले कोसेली किन्न पालो नै पर्खिनुपर्छ । स्थानीय व्यापारी सुजन सापकोटा भन्छन्, ‘सामान्य दिनमा पाँच–दस हजारको बिक्री हुन्छ । ‘सिजन’ सुरु भएपछि भने व्यापार निकै बढ्छ । पोहोर त दिनकै ३० हजारसम्मको कोसेली बिक्री भएको थियो ।’
स्थानीय व्यापारीका अनुसार इलाम आउने अधिकांश पर्यटकले कुनै न कुनै कोसेली किनेर लैजाने चलन नै बसिसकेको छ । ‘यहाँ आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, छुर्पी, ललिपपलगायत कोसेली पनि किनेर लैजानुपर्छ भन्ने धारणा नै बनेको छ’, व्यापारी अमीर आचायले भने ।
काठमाडौँमा व्यवसाय गर्दै आएका दीपक खड्का पनि यहाँ भेटिए । उनी आफू इलामे कोसेलीका नियमित ग्राहक भएको बताउँछन् । ‘कोही इलामबाट काठमाडौँ आउँदैछ भन्ने थाहा पायो भने ललिपप र छुर्पी मगाइहाल्छु । यहाँ आफैँ आएको बेला त झन् छोड्ने कुरै भएन । घरमा सबैजना इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्’, उनी भन्छन् ।
दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसन यहाँका घरेलु उद्योग प्रवर्द्धनमा निकै टेवा पुगेको छ । गाउँगाउँमा यी मिठाई उत्पादन हुने क्रम बढ्दो छ । सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनका अनुसार यी उत्पादन ‘इलाम ब्रान्ड’का रूपमा चिनिन थालेका छन् ।
जिल्लामा करिब दुई दर्जन ललिपप उद्योग सञ्चालनमा छन् । यहाँ उत्पादित मिठाईको माग स्थानीय बजारसँगै काठमाडौँ र भारतसम्म हुने गरेको उद्यमी शिवलाल प्रधान बताउँछन् । सानो प्याकेट ललिपप ५० रुपैयाँ र ठूलो प्याकेट १०० रुपैयाँमा बिक्री हुन्छ । उपहारका लागि आकर्षक रूपमा ‘प्याकेजिङ’ गरिएका ‘गिफ्ट ललिपप’ पनि बजारमा उपलब्ध छन् ।
इलाममा दुग्धजन्य उद्योगको दायरा पनि विस्तार हुँदै गएको हो । जिल्लाका १८ चिज कारखानाले दैनिक करिब २७ हजार लिटर दूध सङ्कलन गर्छन् ।
स्थानीय बजारमा पाँच हजार लिटर दूध खपत हुने गरेको छ भने छुर्पी उद्योगले दैनिक १५ हजार लिटर दूध प्रयोग गर्छन् । ललिपप र बम्बइसन उद्योगले करिब पाँच हजार लिटर दूध खपत गर्छन् भने तीन हजार लिटर दूध भारतीय बजारमा समेत निर्यात हुने गरेको तथ्याङ्क छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा १८ चिज कारखाना, करिब १५० छुर्पी उद्योग र १३ दुग्ध मिठाई उद्योग सञ्चालनमा छन् । यहाँ वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ भने ३३ हजार ३७१ उन्नत जातका गाई पालिएका छन् ।
पर्यटकीय गतिविधिले यस्ता उद्योग र स्थानीय उत्पादन प्रवर्द्धनमा टेवा पुगिरहेको केन्द्र प्रमुख रागवेन्द्र तिवारीको भनाइ छ । ‘पयर्टकीय गतिविधिले यहाँका चियाबारी, पर्यटकीय क्षेत्र प्रचार मात्रै भइरहेको छैन, स्थानीय उत्पादनको बजारीकरण पनि भइरहेको छ । यसले स्थानीय साना उद्यमीको जीविकोपार्जन र व्यवसाय विकासमा पनि टेवा पुगेको छ’, उनले भने ।
सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल स्थानीय उत्पादन प्रवर्द्धनका लागि काम भइरहेको बताउँछन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादकलाई प्रोत्साहनका लागि अनुदान दिने विषयमा पनि छलफल भइरहेको उनले बताए ।
‘पर्यटकीय गतिविधि बढेसँगै यहाँ उत्पादन पनि बढिरहेको छ । उत्पादन वृद्धि र बजार विस्तारका लागि अन्य पालिकासँग पनि सहकार्य गर्ने नीति छ । त्यसका लागि विगतमा पनि केही पहल भएका छन्, अब आगामी आर्थिक वर्षमा थप योजना अगाडि सार्छौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि अनुदानमा आधारित नीति अगाडि सार्ने कि भनेर छलफलमै छौँ । बजार विस्तार र स्थानीय उत्पादकले लाभ पाउने गरी काम हुन्छ’, कार्यवाहक प्रमुख बरालले भने ।
यसरी हेर्दा यहाँको पर्यटन केवल दृश्यमा सीमित छैन, स्थानीय किसान तथा व्यवसायीको सशक्तीकरणको बलियो आधार बनिरहेको छ । चियाबारीको हरियाली र अन्तुको सूर्योदयसँगै यहाँको मिठास बोकेको कोसेली पनि पर्यटकको झोलामा भरिएर देशका विभिन्न ठाउँसम्म पुगिरहेको छ । यस्ता उत्पादनको थप ‘ब्राण्डिङ’ र बजारीकरणमा लगानी गर्न सके अझ धेरै लाभ लिन सकिने स्थानीयको भनाइ छ ।




