काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश क्षेत्रको वित्तीय संरचना असन्तुलित र संकटग्रस्त अवस्थामा पुगेको बताएका छन्। जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले मिटरब्याज, लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका हुन्।
थापाले सहकारी, मिटरब्याज र लघुवित्त क्षेत्रमा अनियमितता गर्ने समूहलाई कानुनी दायरामा ल्याउने मात्र पर्याप्त नहुने तर्क गरे। उनका अनुसार समस्या व्यक्तिमा मात्र सीमित नभई वित्तीय संरचनामै रहेको छ। “हामी मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौँ,” उनले भने, “जनतालाई शोषणबाट मुक्त गरिनेछ।” थापाले मधेशका दलित, अल्पसङ्ख्यक र महिलाका लागि लक्षित नीति र कार्यक्रम ल्याउने उल्लेख गरे। आर्थिक पहुँच र वित्तीय साक्षरताको अभावले कमजोर समुदाय बढी प्रभावित भएको उनको विश्लेषण छ।
उनले मधेशमा बढ्दो लागूऔषध दुर्व्यसनलाई सामाजिक संकटका रूपमा चित्रण गर्दै नियन्त्रणका लागि ठोस योजना ल्याइने बताए। साथै, पाँच वर्षभित्र क्रिकेट रंगशालासहित आवश्यक खेल तथा अन्य पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। थापाको घोषणाले मधेशमा देखिएको वित्तीय अराजकता र सामाजिक समस्यालाई राजनीतिक एजेन्डाको केन्द्रमा ल्याएको छ। तर वैकल्पिक वित्तीय संरचना कस्तो हुने, त्यसको स्रोत र कार्यान्वयन संयन्त्र के हुने भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ।
यदि प्रस्तावित सुधार कार्यान्वयनमा परिणत भए, यसले मधेशको आर्थिक स्थायित्वमा सकारात्मक प्रभाव पार्न सक्छ। अन्यथा, यो पनि चुनावी प्रतिवद्धताको सूचीमै सीमित हुने जोखिम रहन्छ।




